युरोपमा बार्सिलोनाको रवाफ

२२ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिगमा बुधबार बार्सिलोनाले सर्बियन क्लब रेड स्टार बेलग्रेडमाथि ५–२ को जित निकाल्यो ।
राफिन्हाको पासमा १३ औं मिनेटमा डिफेन्डर इन्गो मार्टिनेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बेलग्रेडले २७ औं मिनेटमा बराबरी गोल फर्कायो । तर ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा बार्सिलोनाले फेरि अग्रता लियो ।
दोस्रो हाफमा बार्सिलोना हावी भयो । ५३ औं मिनेटमा लेवान्डोस्की र ५५ औं मिनेटमा राफिन्हाले गोल गरे । फिर्मिन लोपेजले ७६ औं मिनेटमा गोल गरेपछि बार्सिलोना ५–१ को स्थितिमा थियो । बेलग्रेडका लागि मिल्सनले ८४ औं मिनेटमा गोल फर्काए र त्यसपछि कुनै गोल नभएपछि बार्सिलोना ५–२ ले बिजयी भयो ।
खेलमा कुन्डेले ३ गोलमा असिस्ट गरे भने खेलको म्यान अफ दि म्याच बार्सिलोनाकै डिफेन्डर मार्टिनेज भए ।
टिमको प्रदर्शनबाट प्रशिक्षक हान्सी फ्लिक खुसी छन् । ‘हाम्रो प्रदर्शनको सबै पक्षको म कदर गर्छु’, उनले भने, ‘हामी बलसँग धेरै राम्रोसँग खेलिरहेका छौं । सँगै विपक्षीलाई दबाब सिर्जना गर्दै राम्रो नतिजा पनि निकालिरहेका छौं ।’ फ्लिकमा यो उत्साह देखिनु स्वभाविक पनि हो ।
किनकी बार्सिलोनाले च्याम्पियन्स लिगमा ६४ वर्ष पुरानो आफ्नै रेकर्डलाई भेट्टाएको छ । सन् १९५९/६० को सिजनमा बार्सिलोनाले च्याम्पियन्स लिगका ३ खेलमा १४ गोल गरेको थियो । अहिले त्यही रेकर्ड बराबरी गर्यो ।
जबकी पछिल्ला केही वर्ष युरोपमा बार्सिलोनाको प्रदर्शन खस्किएको थियो । एकपछि अर्को सिजन च्याम्पियन्स लिगमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा क्लबको छविलाई नै असर गर्न थालेको थियो ।
यो सिजन पनि पहिलो खेल सोचेअनुसार भएन । सुरुवातमै स्ट्राइकर फेरान टोरेस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको बार्सिलोनाले मोनाकोसँग २–१ को हार ब्यहोरेको थियो ।
तर त्यसपछिका ३ खेलमा भने बार्सिलोनाले शतप्रतिशत नतिजा मात्रै निकालेन, गोलको बर्षा नै गर्यो ।
स्वीस क्लब योङ ब्वाइजमाथि ५–० को जित बार्सिलोनाले निकाल्यो । त्यसपछि जर्मन जायन्ट बायर्न म्युनिखमाथि पनि आफ्नो घरेलु मैदानमा बार्सिलोनाले ४–१ को प्रभावशाली जित निकाल्यो ।
बुधबार रेड स्टार बेलग्रेडमाथि ५–२ को जित निकाल्यो ।
सन् १९५९/६० मा कुबाला, लुइस स्वारेज र फेरान ओलिभेल्लाको प्रदर्शनमा बार्सिलोनाले च्याम्पियन्स लिगका ३ खेलमा १४ गोल गरेको थियो ।
त्यतिबेला बार्सिलोनाले इटालियन क्लब एसी मिलानविरुद्ध अन्तिम १६ को दोस्रो लेगमा ५–१ को जित निकालेको थियो । त्यसपछि क्वार्टरफाइनलमा इंग्लिस क्लब वुल्भर ह्याम्प्टनमाथि होम ग्राउण्डमा ४–० र अवे मैदानमा ५–२ को नतिजा निकालेको थियो । सेमिफाइनल पुग्ने बेलाका ८ खेलमा मात्रै बार्सिलोनाले २६ गोल गरेको थियो ।
यो सिजन बार्सिलोनाले सबैभन्दा बढी १५ गोल गरेको छ । सबै टोलीले समूह चरणका ४ खेल खेलिसक्दा शतप्रतिशत नतिजाका साथै इंग्लिस क्लब लिभरपुल १२ अंकका साथ शीर्ष स्थानमा छ ।
बार्सिलोना ९ अंकका साथ छैटौं स्थानमा छ । तर लिगकै सबैभन्दा बढी गोल बार्सिलोनाले गरेको छ । उसले १५ गोल गर्दा ५ गोल खाएको छ ।
बढी गोल गर्ने खेलाडीको शीर्ष २ मा बार्सिलोनाकै खेलाडी छन् । ५ गोलसहित रोबर्ट लेवान्डोस्की पहिलो र समान ५ गोलका साथ राफिन्हा दोस्रो स्थानमा छन् ।
लेवान्डोस्कीले बेलग्रेडविरुद्ध २, बायर्न विरुद्ध १ र योङ ब्वाइविरुद्ध २ गोल गरेका थिए । राफिन्हाले बायर्नविरुद्ध ह्याट्रिक गरेका थिए भने योङ ब्वाइविरुद्ध १ र बेलग्रेडविरुद्ध १ गोल गरेका थिए ।
१०० गोलको कोसेढुंगा नजिक
पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की यो सिजन उच्च लयमा छन् । बुधबार राति २ गोल गरेपछि उनी च्याम्पियन्स लिगमा लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोपछि १०० गोल पूरा गर्ने तेस्रो खेलाडी बन्न केवल १ गोल मात्रै टाढा छन् उनी ।
च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्म १०० औं गोल पूरा गर्ने खेलाडीको सूचीमा मेसी र रोनाल्डो मात्रै छन् । रोनाल्डोले च्याम्पियन्स लिगको १८३ खेलमा १४० गोल गरेका छन् भने मेसीले १६३ खेल खेल्दै १२९ गोल गरेका छन् । १२४ खेल खेलेका लेवान्डोस्कीले ९९ गोल गरेका छन् ।
सन् २०११ बाट जर्मन क्लब बोरुसिया डर्टमण्डबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका लेवान्डोस्कीले त्यसै क्लबबाट २८ खेल खेल्दै १७ गोल गरे । त्यसपछि बायर्न म्युनिख आएका लेवान्डोस्कीले ७८ खेल खेल्दै ६९ गोल गरे । बायर्नबाट बार्सिलोनामा आएका उनले १८ च्याम्पियन्स लिग खेल खेल्दै १३ गोल गरेका छन् ।
सन्तुलित बार्सिलोना
लेभान्डोस्की मात्र होइन, अहिले बार्सिलोना टिम नै लयमा देखिएको छ । फ्रन्टलाइनदेखि डिफेन्स लाइनसम्म सन्तुलित देखिएको छ ।
अघिल्लो सिजनका मुख्य डिफेन्डरहरु रोनाल्डो अराउजो, क्रिस्टिन्सन घाइते भएर मैदान बाहिरै छन् । तर युवा डिफेन्डर कुबार्सी र भेट्रान मार्टिनेजले उनीहरुको कमी महसुस हुन दिएका छैनन् ।
पहिलो रोजाइका भरपर्दा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन घाइते भएपछि बार्सिलोना ठूलो संकटमा पर्ने आशंका गरिएको थियो । तर यान्की पेनाले गोल पोष्ट सम्हालेपछिको प्रदर्शनले त्यो आशंकालाई पनि गलत साबित गरिदिएको छ ।
बार्सिलोनाको लेफ्ट र राइट साइडका डिफेन्डरको रुपमा क्रमशः बाल्डे र कुन्डेले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।
मिडफिल्डमा पनि बार्सिलोना उत्तिकै बलियो छ । यसमा बार्सिलोनासँग विकल्पहरु पनि धेरै छन् । फ्रेंकी डी–जोङ, पेड्री, गाभी, मार्क कासेडो, फिर्मिन लोपेज, डानी ओल्मो, पाब्लो टोरेजस्ता खेलाडी छन् ।
बार्सिलोनाको अग्रपंक्ति त अहिले युरोपकै उत्कृष्ट देखिएको छ । युरोपका टप ५ लिग (प्रिमिगर लिग, ला–लिगा, बुन्डेसलिगा, सिरी ए, लिग वान) मै भन्दा बढी गोल गर्ने टिममा बार्सिलोना पर्छ ।
ला–लिगामा १२ खेल खेलेको बार्सिलोनाले ४० गोल गरिसकेको छ । च्याम्पिन्यस लिगमा ४ खेलमा १५ गोल गरिसकेको छ । यो तथ्यांक जारी सिजनको सबैभन्दा बढी गोल गर्ने टिमको तथ्यांक हो ।
जारी सिजनको ला–लिगामा लेवान्डोस्कीले सबैभन्दा बढी १४ गोल गरेका छन् । राफिन्हाको नाममा ७ गोल छ । यामलको नाममा ५ गोल छ । ला–लिगामै सबैभन्दा बढी यामलको नाममा ७ असिस्ट, राफिन्हाको नाममा ६ असिस्ट लेवान्डोस्कीको नाममा २ असिस्ट छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।