युवा फुटबलरले भोलि चिनियाँ टोलीसँग मैत्रिपूर्ण खेल खेल्दै

२६ माघ, काठमाडौं । नेपाली युवा फुटबल टोलीले भोलि शनिबार दशरथ रंगशालामा चिनियाँ टोलीसँग मैत्रिपूर्ण खेल खेल्दै छ ।
नेपाली युवा टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीलाई अवसर हुने बताए ।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यू–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच खेल हुन लागेको हो ।
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताए । उनका अनुसार नेपाली टोलीमा अधिकांश यू–२० उमेरसमूहका खेलाडी र एक जना यू–१६ खेलाडी पनि समावेश छन् ।
एन्फाले चिनियाँ टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको छ । कप्तान मनिषले प्रशिक्षणका लागि आठ दिनको समय पाएको उल्लेख गर्दै समय कम भए पनि तयारी राम्रो भएको बताए ।
चिङ्घाईको छिङ हाई युसु युवाका १६ जना खेलाडीसहितको टोली नेपाल आएको छ । उक्त टोलीमा औसत २२ वर्ष उमेरका खेलाडी छन् ।
चिनियाँ टोलीका प्रशिक्षक बादेङ चेङलिनले नेपाली टोलीसँग खेल्नु आफूहरुका लागि अवसर र सांस्कृतिक आदनप्रदान गर्न खेलले महत्वपूर्ण भुमिका खेल्ने बताए । अखिल नेपाल फुटबल संघ एन्फाले खेलका लागि टिकट दर साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ निर्धारण गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।