यूएन पार्कदेखि बल्खुसम्मको खोला किनार संरचना ललितपुर महानगरको जिम्मा

२ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेका संरचनाहरू महानगरलाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगरलाई उक्त संरचना हस्तान्तरण गरेको हो ।
महानगरको वडा नम्बर १, २, १० वडाको बागमती किनाराको २ दशमलव ८ किलोमिटर क्षेत्रफलमा समितिले घाट, सडक, साइकल ट्रयाक, सार्वजनिक शौचालय, पाटी निर्माण गरेको छ ।
संरचना हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा नगरप्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र समितिका आयोजना प्रमुख रविन्द्र बोहोराले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरको बागमती करिडोरमा निर्माण गरेको संरचना संरक्षण र व्यवस्थापन गर्ने बताए । एडीबीको सहयोगमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यूएन पार्कदेखि बल्खुपुलसम्मको खोला किनारमा पार्क सहितका संरचना निर्माण गरेको थियो ।
ललितपुर महानगरका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले समितिले बागमती किनारामा निर्माण गरेको हरियाली पार्क लगायतका नदी वरपरका सम्पदाहरूको व्यवस्थापन, संचालन तथा मर्मत सम्भारको जिम्मेवारी अब महानगरले गर्ने बताए । ‘बागमती किनारमा ललितपुरतर्फको संरचना अब महानगरको भयो, सडकको जिम्मेवारी भने समितिकै छ,’ उनले अनलाइनखबरसँग भने ।
उक्त खण्डको सडक मार्गमा वर्षामा हिलो र हिउँदमा धूलोको समस्या सधै हुनेगरे पनि महानगरपालिका समितिले हेर्ने बताउँदै आएको छ । ‘यूनएन पार्कदेखि बल्खु करिडोरमा सबैभन्दा धेरै समस्या सडकमा छ । अब त्यसको समाधान गर्न १० नम्बर वडाको पहलमा समितिले सडक कालोपत्रे गर्न टेण्डर आह्वान गरिसक्यो । त्यो पनि समाधान हुन्छ,’ महर्जनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।