यू–१५ विद्यालयस्तरीय टेबल टेनिसमा बागमती च्याम्पियन

३१ जेठ, पोखरा । पोखरामा रंगशालामा जारी यू–१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिसमा बागमती प्रदेश प्रथम बनेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो ।
दोस्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए ।
दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कांस्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कास्य जितेको हो । बागमती प्रदेशका जयस्नु महर्जनले यू–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले छात्र सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते ।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको छात्र सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो भए ।
छात्रा सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन् । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेस्रो भए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।