यो साता सेयर बजार घट्दा पनि मूल्य धेरै बढेका १० कम्पनी

७ मंसिर, काठमाडौं । यो साता सेयर बजार २.४७ प्रतिशत घटेको छ । गत साता २७४८ अंकमा रहेको बजार यो साता २६७५ अंकमा झर्यो । गत साता बजार २.७३ प्रतिशत बढेको थियो । यो साता सोमबार अकस्मात सार्वजनिक बिदा दिइएपछि ४ दिन मात्रै बजार खुल्यो ।
पहिलो दिन आइतबार ४.९८ अंक बढेको बजार मंगलबार ५१.११ अंक घट्यो । बुधबार फेरि ९.०९ अंक बढेकोमा बिहीबार नै ३१.३१ अंक घट्यो । बजारमा कारोबार रकम उल्लेख्य नै छ ।
आइतबार ११ अर्ब ७२ करोडको कारोबार भएकोमा मंगलबार १० अर्ब ४६ करोड, बुधबार ७ अर्ब ९ करोड र बिहीबार ८ अर्ब २५ करोडको भयो । यसले बजार घट्दा पनि कतिपय लगानीकर्ताले खरिदको मौकाका रुपमा हेरिरहेको जनाउँछ ।
विकास बैंकबाहेक सबै सेक्टर घटे
यो साता विकास बैंकबाहेक सबै सेक्टर घटेका छन् । विकास बैंक ० . १४ प्रतिशत बढ्यो । गत साता विकास बैंक सेक्टर ४. ९९ प्रतिशत बढेको थियो । यो साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ५. १ प्रतिशत घट्यो । गत साता बजार बढ्दा फाइनान्स सेक्टर नै सबैभन्दा धेरै ७.५ प्रतिशत बढेको थियो ।
पछिल्लो समय फाइनान्स सेक्टरको उतारचढाव बढी देखिएको छ । फाइनान्सपछि उत्पादन सेक्टर ४ प्रतिशत घट्यो । बजारलाई बढी प्रभाव पार्ने बैंकिङ सेक्टर यो साता २.४ प्रतिशत घट्यो भने हाइड्रोपावर १.९ प्रतिशत घट्यो ।
धेरै कारोबार भएका कम्पनी
यो साता रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो – ङादी ग्रुप पावर । सो कम्पनीको १ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
त्यसपछि धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास कम्पनी, सिंगटी हाइड्रो इनर्जी, पिपुल्स हाइड्रोपावर, बेस्ट फाइनान्स, पोखरा फाइनान्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।
कारोबार संख्याका आधारमा भने हिमालय ऊर्जा विकास कम्पनी अगाडि रह्यो । त्यसपछि ङादी ग्रुप पावर, हिमालयन रिइन्स्योरेन्स, सिंगटी हाइड्रो इनर्जी, समृद्धि फाइनान्स, मध्यभोटेकोशी जलविद्युत् आयोजना, जानाकी फाइनान्स, बेस्ट फाइनान्स र आँखुखोला जलविद्युत् क्रमशः अगाडि रहे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।