रग्वी च्याम्पियनसिपको उपाधि गोर्खालीलाई

१२ फागुन, काठमाडौं । राष्ट्रिय फिफ्टिन्स रग्वी च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ ।
दशरथ रंगशालामा शनिबार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खाली ९ अंक सहित च्याम्पियन बनेको हो ।
अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्वीले रनिङ ट्रफीसहित १ लाख नगद पुरस्कार जितेको छ ।
प्रतियोगितामा एपीएफ क्लब दोस्रो बन्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपीएफ उपविजेता बनेको हो । एपीएफले ७ अंक जोड्यो । एपीएफले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद प्राप्त गर्यो ।
च्याम्पियनसिपमा तेस्रो भएको आर्मीले ५ अंक जोड्यो । नेपाल प्रहरी ३ अंकसाथ ४ टिम सहभागी लिगमा अन्तिममा रह्यो । प्रतियोगितामा एपीएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे ।
लिगमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समेटेर राष्ट्रिय टिम निर्माण गरिने आयोजक नेपाल रग्वी संघले जनाएको छ । लिगलाई आगामी वर्षमा थप बिस्तार गर्दै लैजाने योजना रहेको संघका अध्यक्ष दीपक देवकोटाले बताएका छन् ।
विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य सम्राटकुमार कुसारी, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।