‘राजागञ्ज’ एउटै महिनामा ५ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा
काठमाडौं । भेनिसमा वर्ल्ड प्रिमियर भएको दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ नेपालमा चैत १ मा रिलिज हुँदैछ । नेपालमा ‘राजागञ्ज’ र विदेशमा ‘पूजा, सर’को नामबाट फिल्म प्रदर्शनमा आउँदैछ ।
नेपाल प्रदर्शनअघि यो फिल्म विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ हुँदैछ ।
एक महिनाभित्रै विभिन्न ५ फेस्टिभलमा स्क्रिनिङ हुँदैछ । ती फेस्टिभलले सार्वजनिक गरेका लाइनअपमा आशा मगराती, दयाहाङ राई र निकिता चाण्डक स्टारर फिल्म समावेश छ ।
भारतको धर्मशाला अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको १३ औं संस्करणमा ‘क्लोजिङ फिचर’को रुपमा यो फिल्म छ । कान्समा ग्रान्ड प्रिक्स जितेको पायल कपाडियाको ‘अल वी इम्याजिन एज लाइट’ ओपनिङ फिल्मको रुपमा रहँदा यो नेपाली फिल्म चाहिँ समापन फिल्मको रुपमा समावेश छ ।
धर्मशाला फिल्म फेस्टिभल नोभेम्बर ७ देखि १० सम्म आयोजना हुँदैछ ।
इस्टोनियाको फिल्म फेस्टिभल तालिन ब्ल्याक नाइट्सको ‘स्क्रिन इन्टरनेसनल क्रिटिक च्वाइस’ विधामा ‘राजागञ्ज’ छनोट भएको छ । नोभेम्बर ८ देखि २४ सम्म यो फेस्टिभल इस्टोनियाको तालिनमा भैरहेको छ । यो फेस्टिभल बर्लिन, भेनिस र सनडान्सजस्तै ए-लिस्टरमध्ये पर्छ ।
थाइल्याण्डको बैंकक वर्ल्ड फिल्म फेस्टिभलमा यो फिल्म प्रतिस्पर्धामा छ । यो प्रतिस्पर्धामा नेपालको अर्को फिल्म ‘शाम्बाला’ पनि छ । अमेरिकाको सान-डियागो एसियन फिल्म फेस्टिभलमा समेत यो फिल्म प्रतिस्पर्धामा छ । ग्रीसको थेसालोनिकी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा यो फिल्म छनोट भएको थियो ।
‘हाइवे’ र ‘ह्वाइट सन्’पछि रौनियारको यो तेस्रो कथानक फिल्म हो । फिल्ममा ऋचा शर्मा, पुष्पा यादव, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय छ ।
यो फिल्मको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।