Main

एसोसियट क्रिकेटका उत्कृष्ट एरासमस

१२ मंसिर, काठमाडौं । जेरार्ड एरास्मस नामिबिया राष्ट्रिय क्रिकेट टोलीका कप्तान हुन् । १५ वर्षको उमेरमा सिनियर टोलीमा डेब्यू गरेपछि एरास्मसले एसोसिएट क्रिकेट संसारमा आफूलाई एक सशक्त नामको रूपमा स्थापित गरेका छन्।

दायाँ हाते ब्याटिङ र अफ स्पीन बलिङसहित अलराउण्डरको भूमिकामा खेल्ने एरासमस आज एसोसिएट क्रिकेटमा उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनले सन् २०२२ मा आइसीसी एसोसिएट क्रिकेटर अफ दि इयरको अवार्ड पनि जितेका थिए ।

एरास्मसका बुबा नामिबिया क्रिकेटका पूर्व अध्यक्ष र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का एसोसिएट डिरेक्टर थिए, जसका कारण कलिलै उमेरमा गेरहार्ड एरास्मस माथि क्रिकेटले आफ्नो छाप छोड्यो ।

एरास्मसले १५ वर्षको उमेरमा मेरिलबोन क्रिकेट क्लबसँगको (एमसीसी) खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। २०११-१३ को आईसीसी इन्टरकन्टिनेन्टल कपमा आयरल्याण्डविरुद्धको खेलबाट आफ्नो अन्तर्राष्ट्रिय र फर्स्ट क्लास डेब्यू गर्दा उनी केवल १६ वर्षका थिए।

नामिबिया क्रिकेट इतिहासका सबैभन्दा कान्छा खेलाडी एरास्मसले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । एकपछि अर्को प्रतियोगिता गर्दै एरास्मसले नामिबियाका लागि महत्वपूर्ण आलराउण्डरको रूपमा स्थान बनाए ।

राष्ट्रिय टोलीसँगै एरास्मसले नामिबियाको युवा टोलीमा पनि खेल्ने मौका पाए । एरास्मसले २०१२ र २०१४ को यू-१९ विश्व कपमा नामिबिया यू-१९ टोलीको कप्तानी गरेका थिए। त्यसैगरी, सिनियर टोलीका महत्वपूर्ण सदस्यका रूपमा आफूलाई स्थापित गर्दै लगेका एरास्मस २०१२, २०१४ र २०१६ को टी-२० विश्व कप क्वालिफायर्सका लागि अन्तिम चरणको टोलीमा परेका थिए।

२०१९ को आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ का लागि नामिबिया टोलीको कप्तान एरास्मसलाई घोषणा गरियो। प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन देखाउँदै नामिबियाले विजेता हुनका साथै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गर्‍यो।

२०१९-२३ को आईसीसी वर्ल्ड क्रिकेट लिग २ चरणको खेलमा ओमानविरुद्धको खेलमा एरास्मसले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। २०२३ को आईसीसी क्रिकेट विश्व कप क्वालिफायर प्ले-अफमा पपुवा न्यू गिनी (PNG) विरुद्ध उनले दोस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरे। त्यही प्रतियोगितामा एरास्मस सर्वश्रेष्ठ खेलाडी घोषित भए।

त्यस्तैगरी, २०१९ को आईसीसी टी-२० विश्वकप क्वालिफायर्सका लागि पनि कप्तानीको जिम्मेवारी एरास्मसलाई नै दिइयो। एरास्मसको नेतृत्वमा नामिबियाले २०२१ टी-२० विश्व कपका लागि छनोट हुँदै इतिहास रच्यो। क्वालिफायर्सका सर्वश्रेष्ठ खेलाडी घोषित हुँदा एरास्मसले ९ खेलमा २६८ रन प्रहार गरेका थिए।

एरास्मसको नेतृत्वमा नामिबियाले एकपछि अर्को सफलता हात पार्ने क्रम रोकिएन। २०२२ को टी-२० विश्व कपका लागि नामिबिया छनोट मात्रै भएन, विश्व कपमा टेस्ट राष्ट्र श्रीलङ्कालाई ५५ रनले पराजित गर्दै सनसनी मच्चायो। एरास्मसको व्यक्तिगत प्रदर्शनले पनि नयाँ उचाइ लियो, जब उनले युगाण्डाविरुद्ध टी-२०आई फर्म्याटमा आफ्नो पहिलो शतक प्रहार गरे।

त्यस्तै, अफ्रिका क्षेत्रीय फाइनलमा टेस्ट राष्ट्र जिम्बाब्वेलाई हराउँदै नामिबिया २०२४ को टी-२० विश्व कपमा छनोट भएको थियो। प्रतियोगिताभरी नामिबिया अपराजित रहँदा एरास्मसले कप्तानीका साथसाथै मिडल अर्डरमा महत्त्वपूर्ण भूमिका खेले। सन् २०२३ को आईसीसी अवार्ड्समा एरास्मसलाई एसोसिएट क्रिकेटर अफ द इयर-२०२२ को उपाधि दिइयो।

एरास्मसलाई एसोसिएट क्रिकेटमा एक पूर्ण खलाडीको रूपमा हेर्ने गरिन्छ। क्रिकेटका तीनै आधारभूत पक्ष— ब्याटिङ, बलिङ र फिल्डिङमा उत्तिकै अब्बल रहेका एरास्मस पछिल्लो दशकमा नामिबिया क्रिकेटका लागि सबैभन्दा ठूलो म्याच विनरका रूपमा उदाएका छन्। दायाँ हातका ब्याटर र दायाँ हातले अफ स्पिन बलिङ गर्ने एरास्मसलाई नामिबियाको मिडल अर्डरको आधारस्तम्भ मानिन्छ।

२०२४-२७ को वर्ल्ड क्रिकेट लिग २ का लागि नेपाल आउँदा उनले नेपाललाई एसोसिएट क्रिकेटको “इन्डिया” भनेर गरेको टिप्पणी नेपाली क्रिकेटप्रेमीहरूबीच चर्चित बनेको थियो। नेपालविरुद्ध ८ ओडीआई खेलमा ४ अर्धशतक प्रहार गरिसकेका एरास्मसको नेपालमा ब्याटिङ औसत लगभग २५ रहेको छ। त्रिवि मैदानको स्पीनरलाई सहज हुने मैदानमा घातक सावित हुनसक्ने एरास्मसको नेपालमा बलिङ औसत १३.८३ रहेको छ भने एउटा ५-विकेट हउल पनि छ।

नेपाल प्रिमियर लिगका लागि काठमाडौं गुर्खाजबाट खेल्ने एरासमस टोलीका लागि महत्वपूर्ण सदस्य रहनेमा दुईमत छैन। रणनीतिक रूपमा निखारिएका कप्तान मानिने उनको अन्तर्राष्ट्रिय अनुभव र क्रिकेटिङ कला गुर्खाजको लागि महत्वपूर्ण हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button