Main

राप्रपाका प्रदेश सांसदलाई ३ दिने प्रशिक्षण

२९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेश सभा सदस्यहरुका लागि आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रम सकिएको छ ।

काभ्रेको धुलिखेलमा आयोजित राजनीतिक वृत्तिविकास प्रशिक्षण २०८१ मा प्रदेश सभा सदस्यहरुलाई प्रदेशसभामा उनीहरुको भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, विकास योजना छनोट, बजेट, कानुनी एवं संवैधानिक विषयहरुमा प्रशिक्षण दिइएको छ ।

पार्टीका प्रशिक्षण विभाग प्रमुख ध्रुवबहादुर प्रधानले सांसदहरुको राजनीतिक व्यक्तित्व निर्माण र क्षमता विकासलाई ध्यान दिएर प्रशिक्षण सञ्चालन गरिएको बताए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आमसञ्चार माध्यमसँगको सम्बन्ध र अन्तर्वार्ताका विषयमा प्रशिक्षण दिए ।

संविधानविद डा. भीमार्जुन आचार्यले नेपालको संविधान र संघीयताले पार्ने असरका विषयमा जानकारी गराए । पत्रकार उमेश श्रेष्ठले पार्टीका नेता, सदस्य र सांसदहरुले कसरी सामाजिक सञ्जाल प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिए ।

पार्टीका पूर्वअध्यक्ष एवं निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अर्थ राजनीतिका आयाम र सांसदको भूमिका विषयमा प्रशिक्षण दिए ।

राप्रपाको सातै प्रदेशमा गरी २८ जना सांसद रहेका छन् । जसमध्ये २ जना सभामुख र १ जना उपसभामुख पदमा छन् । प्रशिक्षणमा २५ जना सांसद सहभागी भएका केन्द्रीय प्रशिक्षण विभागकी उपप्रमुख खुस्बु ओलीले बताइन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सैद्धान्तिक रुपमा राप्रपा संघीयताको विरोधमा रहेको तर वर्तमान संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए । उनले जनअपेक्षा अनुरुप योजना छनौट तथा विकास निर्माणमा सक्रिय हुन सांसदहरुलाई निर्देशन दिए ।

पूर्वअध्यक्ष पशुपति शमसेर जबराले राप्रपालाई आगामी निर्वाचनमा देशको अग्रणी शक्ति बनाउन अहोरात्र खट्न सांसदहरुलाई आग्रह गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button