राप्रपा सांसद गीता बस्नेत विरुद्ध मुद्दा दर्ता, सहकारीको ९६ करोड रिसोर्टमा लगानी गरेको आरोप

२० जेठ, काठमाडौं । पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद् गीता बस्नेत सहित २५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
संस्थाको पदाधिकारी नरहे पनि बचतकर्ताको रकम अनियमित रुपमा ढकाल सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको देखिएपछि प्रहरीले प्रतिवादी बनाउन राय दिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बस्नेत उनका ज्वाइँ नगेन्द्र रिमाल पक्राउ परेलगत्तै फरार भएकी थिइन् ।
रिमाल सहकारीमा सचिव थिए । प्रहरी अनुसन्धानका क्रममा ज्वाइँ सचिव भएको सहकारीबाट विभिन्न समयमा रकम प्रवाह भएको देखिएको एसपी नरहरि रेग्मी बताउँछन् ।
बस्नेतले ज्वाइँ नगेन्द्र, तत्कालीन अध्यक्ष योगेन्द्र पाण्डे, पदाधिकारीहरु सञ्जिवकुमार महतो र साथीहरुसँग मिलेर सहकारीको सम्पत्ति व्यक्तिगत कारोबारमा प्रयोग गरेको भनिएको छ । रिसोर्टमा मात्र सहकारीको ९६ करोड हिनामिना गरेको आरोप छ ।
सहकारी रजिष्टारको कार्यालय, गण्डकीले गरेको छानबिनपछि पेश प्रतिवेदनका आधारमा प्रहरीले यो सहकारीमाथि अनुसन्धान थालेको थियो ।
वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा भएको छानबिनको प्रतिवेदनमा पदाधिकारीले ‘एड्जस्टमेन्ट एकाउन्ट’ नामको काल्पनिक बचत खाता खोलेर रकम हिनामिना गरेको निष्कर्ष निकालेको थियो । पछि विभिन्न समयमा गरेर ३६६ जना पीडितले समेत प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।