Main

रामहरि खतिवडालाई सूर्य थापाको जवाफ : प्रधानमन्त्रीले प्रतिपक्षीको नेता भएर बोल्नुपर्ने हो ?

२८ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेकपा एमालेका सांसद सूर्य थापाबीच सवालजवाफ भएको छ ।

प्रधानमन्त्रीले संसदमा बोल्दा प्रधानमन्त्रीको रुपमा नबोलेको कांग्रेस सांसद खतिवडाको आरोप छ । प्रधानमन्त्री गठबन्धनबाट बनेकाले गठबन्धनकै नेताका रुपमा बोल्नु स्वभाविक रहेको जवाफ एमाले सांसद थापाले फर्काए ।

सुरुमा बोलेका कांग्रेस सांसद खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानको बचाउ गरेको आरोप लगाए ।

‘प्रधानमन्त्री संसदमा जवाफ दिनुभयो । प्रधानमन्त्रीले प्रधनमन्त्रीको रुपमा प्रस्तुत भएर जवाफ दिनुहुन्छ भन्ने हामीले सोचेका थियौं । गठबन्धनको प्रमुखको रुपमा जवाफ दिन थाल्नुभयो,’ सांसद खतिवडाले भने, ‘गठबन्धन प्रमुखका रुपमा आफ्नो गठबन्धन बिग्रन्छ कि भत्किन्छ कि भनेर जवाप दिन थाल्नुभयो ।’

सहकारीको रकम हिनामिनाको सम्बन्धमा जो दोषी थियो त्यसलाइ उम्क्याउने पर्यास सरकारबाट भएपछि आफूहरु संसदीय छानबिनको मागमा पुगेको कांग्रेस सांसद खतिवडाले बताए ।

कांग्रेस सांसद खतिवडाको अभिव्यक्ति आफैंमा अमिल्दो रहेको भनी एमाले सांसद थापाले प्रतिवाद गरे, प्रतिपक्षीले प्रधानमन्त्रीले गठबन्धनको नेता भएर बोल्नुभयो भन्नुभयो । के प्रधानमन्त्रीले प्रतिपक्षीको नेता भए बोल्नुपर्ने हो ?’

गठबन्धनको बहुमतको आधारमा नै संसदबाट विश्वासको मत प्राप्त मुलुक संचालन गर्छु प्रधानमन्त्रीले भनेको उल्लेख गर्दै उनले भने, ‘यसकारण उहाँ(रामहरि खतिवडा)ले गठबन्धनको नेताको हैसियतले नै बोलेको भन्ने सन्दर्भमा कुरा मिलेन क्या । मिल्ने कुरा गर्नुपर्यो ।’

हाल सहकारीको समस्या जताततै उठिरहेको र यो कुनै व्यक्तिगत समस्या नभएको पनि उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button