फुटटेक फुटसलको दोस्रो संस्करण ५ जेठदेखि

१४ वैशाख, काठमाडौं । फुटटेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ ।
सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागिता रहने प्रतियोगिताका खेल पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुनेछन् ।
आयोजक लेट्स प्ले स्पोर्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ ८ टिमको सहभागिता रहने जानकारी गरायो ।
प्रतियोगिताका खेल जेठ ५ गतेदेखि प्रत्येक शनिबार सञ्चालन हुनेछन् । जसअन्तर्गत पहिलो र दोस्रो शनिबार समूह चरणका तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेल सञ्चालन हुनेछन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ, भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितासँगै फुटसलका प्रतिभाहरूको प्रस्तुति सहितको फ्रिस्टाइल स्किल च्यालेन्ज पनि आयोजना हुनेछ । जसमा फुटसलमा विशेष कला भएकाले प्रस्तुति दिने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुरस्कार वितरण गरिने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।