राष्ट्रपतिले मनोनित गर्ने सिटमा जनमोर्चाकी दुर्गा पौडेल

२२ पुस, काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।
राष्ट्रपतिबाट मनोनित एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।
राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्तारुढ दलहरुको बैठक निरन्तर बस्दै आएको छ । आइतबार बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ । कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन ।
स्रोतका अनुसार राष्ट्रपतिले मनोनित गर्ने सदस्यबारे पनि सहमति जुटिसकेको छ । यो सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनित गर्ने सहमति भएको हो ।
नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल प्रतिनिधि सभा निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पराजित भएकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।