Main

राष्ट्रिय महिला मादल वादन प्रतियोगितामा सुशिल बुढामगर पहिलो

काठमाडौं । पहिलो राष्ट्रिय महिला मादल वादन प्रतियोगिता २०८१ मा सल्यानकी सुशिला बुढामगर पहिलो भएकी छन् । राजधानीमा विहिबार सम्पन्न प्रतिस्पर्धामा काभ्रेकी सुकिमाया मोक्तान दोस्रो र दाङकी रीता बुढाथोकी तेस्रो भइन् ।

सुर्खेतकी विमला गिरी सान्त्वना बने । पहिलो हुनेलाई ५५ हजार, दोस्रो हुनेलाई ३५ हजार, तेस्रोलाई २५ हजार र सान्त्वना हुनेलाई १५ हजार रुपैयाँ नगदले पुरस्कृत गरियो ।

प्रतिस्पर्धामा सहभागि भएकी ७१ वर्षिया कोलीकुमारी कुवँरलाई विशेष प्रतिभा सम्मान, देवकुमारी देबकोटालाई पब्लिक च्वाईस र जस्मिन कपालीलाई युवा प्रतिभा सम्मान प्रदान गरियो ।

उपाधिका लागि २७ जना महिलाले भाग लिएका थिए । निर्णायक संयोजकमा वरिष्ठ मादल बादक खड्ग बुढा मगर थिए । प्रतियोगितालाई कर्णाली कलाकार प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका थिए ।

‘नारीको कला, नारीको सान’ भन्ने नारासहित आयोजित प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कला संस्कृतिको क्षेत्र अब परिवर्तित व्यवस्थाअनुकूल जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताइन् ।

शर्माले हरेक परिवर्तनका लागि कला, साहित्य र संस्कृति निकै बलशाली हुने बताइन् । तीज होस् वा अन्य चाडपर्वमा महिलाले आफ्नो प्रतिभा प्रष्फूटन गर्दै महत्वपूर्ण माध्यम र संस्कृतिको निरन्तरताको साधन मादललाई बनाउँदै आएको स्मरण उनले गरिन् ।

आयोजक संस्थाकी अध्यक्ष टीका पुनले अध्यक्षता गरेको उक्त कार्यक्रममा संगीतमा योगदान पुर्‍याउने केही महिला संगीतकर्मीलाई सम्मान समेत प्रदान गरिएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button