‘रेड सुट्केस’को देशव्यापी अग्रिम टिकट बिक्री सुरु

काठमाडौं । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको फिल्म ‘द रेड सुट्केस’को देशव्यापी एड्भान्स टिकट बिक्री सुरु भएको छ । भेनिससहित संसारका चर्चित फेस्टिभलको चक्र पूरा गरेपछि यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
निर्माण कम्पनी आइसफल प्रोडक्सनले देशव्यापी ५० शोसहित फिल्म रिलिज हुन लागेको जनाएको छ । यो फिल्म क्यूएफएक्स चेनमा रिलिज हुनेछैन । ‘हामीले सोचेभन्दा राम्रो शो हो यो,’ निर्माता रामकृष्ण पोखरेलले भने, ‘प्रिमियरमा जसले फिल्म हेरे उनीहरुले खुलेर प्रशंसा गरेका छन् ।’
गतसाता अमेरिकी टेलिभिजन एचबीओले ओटीटी राइट खरिद गरेसँगै यो फिल्मको लगानी सुनिश्चित भइसकेको छ । जसकारण कम्तीमा लगानी उठाउन हलमा चल्नैपर्ने दबाब निर्मातामा पर्नेछैन ।
सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा स्टारर यो फिल्म प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको छ । यो फिल्म आगामी ओस्कारमा नेपालबाट सिफारिस हुनसक्ने अड्कलबाजी सुरु भइसकेको छ । फिडेल देवकोटा निर्देशित यो फिल्मलाई मिस्ट्री रियालिज्म जनरामा राखिएको छ ।
शुक्रबार विदेशी फिल्महरु रिलिज नहुने सम्भावना बलियो छ, यसको फाइदा ‘द रेड सुट्केस’, ‘डिग्री माइला’ र प्रदर्शनरत ‘महाजात्रा’ले उठाउन सक्ने अनुमान छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।