रोड टु टोटनह्याम : नेपालको दोस्रो टोली बेङ्गलोर प्रस्थान

८ साउन, काठमाडौं । भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तर्गत छनोट भएका फुटबल खेलाडीहरूको दोस्रो टोली मंगलबार बेङ्गलोर प्रस्थान गरेको छ ।
भगवती क्लबका पूर्वअध्यक्ष प्रकाश श्रेष्ठ तथा व्यवस्थापक राजु विक्रम थापाको नेतृत्वमा ४६ सदस्यीय टोलीेले बेङ्गलोरको किक स्टार्ट फुटबल क्लब (एफसी) मा छनोट परीक्षण दिनेछन् ।
परीक्षणबाट उत्कृष्ट खेलाडीको रुपमा छनोट हुन सफल खेलाडीहरूले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरूले टोटनह्याममा सहभागिता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए ।
बेङ्गलोर गएको टोलीले तीन दिनसम्म शारीरिक, खेल कौशलता परीक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छन् ।
त्यसपश्चात खेलाडीहरू नेपाल फर्कने र परीक्षणमा छनोट हुन सफल खेलाडीहरूले आवश्यक प्रक्रिया पूरा गरेर पुनः एकेडेमीमा प्रशिक्षण लिन जानेछन् ।
यस अघि छनोट चरणमा सहभागी ३६ खेलाडीमध्ये ५ खेलाडीले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् भने अन्य खेलाडीले ९० प्रतिशतदेखि १० प्रतिशत सम्मको छात्रवृत्ति प्राप्त गरेका छन् ।
रोड टु टोटनह्याम कार्यक्रममा देशभरका करिब ३ हजार खेलाडीको सहभागिता रहेको थियो । किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरूको टोलीले दुई दिनसम्म सञ्चालन गरेको कार्यक्रमबाट पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरूलाई दोस्रो चरणको लागि बेङ्गलोरमा छनोट गर्न लागिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।