रोड टु टोटनह्याम : नेपाली खेलाडी बेङ्गलोर प्रस्थान

३२ जेठ, काठमाडौं । भगवली क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तर्गत छनोट हुन सफल फुटबल खेलाडीहरुको पहिलो टोली बेङ्गलोर प्रस्थान गरेको छ ।
खेलाडीहरुलाई विदाइ गर्दै अखिल नेपाल फुटबल संघका सह-महासचिव दामोदर ‘बद्री’ भट्टराईले छनोट हुन सफल खेलाडीहरुले अनुशासनका साथ छनोट कार्यक्रममा सहभागिता जनाउने बताए । उनले आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको भन्दै खेलाडीहरुलाई शुभकामना दिए ।
भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशी तथा व्यवस्थापक बिजेन्द्र पुडासैनीको नेतृत्वमा ३६ सदस्यीय टोलीले बेङ्गलोरको किक स्टार्ट फुटबल क्लबमा (एफसी) छनोट परीक्षण दिने छन् ।
परीक्षणबाट उत्कृष्ट खेलाडीको रुपमा छनोट हुन सफल खेलाडीहरुले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरुले टोटनह्याममा सहभागिता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए ।
बेङ्गलोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारीरिक, खेल कौशलता परीक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छन् । त्यस पश्चात खेलाडीहरु नेपाल फर्कने र परीक्षणमा छनौट हुन सफल खेलाडीहरुले आवश्यक प्रकृया पुरा गरे पश्चात पुन: एकेडेमीमा प्रशिक्षण लिने र उक्त प्रशिक्षणमा उत्कृष्ट हुन सफल खेलाडीले टोटनह्यामको टिकट काट्ने ब्यवस्थापक बिजेन्द्र पुडासैनीले जानकारी गराए ।
टोखास्थित भगवती क्लबको आयोजनामा भएको रोड टु टोटनह्यम कार्यक्रममा देशभरिका करिव ३ हजार खेलाडीहरुको सहभागिता रहेको थियो ।
किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरुको टोलीले दुई दिन सम्म सञ्चालन भएको छनोट कार्यक्रमबाट पहिलो चरणमा १४७ खेलाडीहरुलाई छनोट गरेका थिए ।
छनोट भएका खेलाडीहरुको दोश्रो टोली जुलाईमा बेङ्गलोर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।