लगानीको आकर्षक वस्तु बन्दै रोलेक्स घडी

५ वैशाख, काठमाडौं । लगानी भन्नेबित्तिकै मानिसको ध्यान घर जग्गा कारोबार, शेयर बजार, सुन चाँदी खरिद आदितर्फ केन्द्रित हुन्छ । तर हाते घडीसमेत लगानीको आकर्षक वस्तु बनेको छ । बेलायतबाट सुरु भएर स्वीटजरल्याण्डमा स्थानान्तरण भएको रोलेक्स ब्रान्डको घडीमा लगानीकर्ताहरुको आकर्षण बढेको छ ।
गत मार्चमा रोलेक्सको डेटोना मोडलको घडीको मूल्य ४८ हजार ५०० डलर पुगेको थियो । हाल भने त्यसको मूल्य दोस्रो बजारमा ३० हजार डलर कायम रहेको वाचचार्टले जनाएको छ । सन् २०२२ को विभिन्न महिनाको तथ्यांक हेर्दा दोस्रो बजारमा रोलेक्स घडीको मूल्य निकै आकासिएको थियो । बब्स वाचेजका अनुसार लगानीका दृष्टिकोणले बितेको दशकमा सुन र शेयर बजारको तुलनामा रोलेक्सको प्रतिफल राम्रो छ ।
विलासी घडी बिक्री वितरण गर्ने साइट कोर्नो ट्वान्टी फोका अनुसार त्यस साइटमा २५ प्रतिशत खोजी रोलेक्ससँग सम्बन्धित छ । त्यहाँको बिक्रीमध्ये १४ प्रतिशत रोलेक्स कम्पनीबाटै हुने र ८० प्रतिशत व्यक्तिगत स्वामित्वको हुने बताइएको छ ।
कोर्नो ट्वान्टी फोका संस्थापक टिम स्टार्कका अनुसार घडीमा लगानीको प्रतिफल यस वर्षको जनवरीदेखि बढेको थियो । ‘घडीमा लगानी गरेकाहरुका निम्ति जनवरीदेखि यताका महिनामा निकै फलिफाप भयो तर मार्च र अप्रिलमा जस्तो राम्रो प्रतिफल अन्य महिनामा प्राप्त भएन । आगामी महिनामा यसको नतिजा के होला निकै खुलदुली छ’, उनले बिजनेस इन्साइडरसँग भनेका छन् ।
कोर्नो ट्वान्टी फोका अनुसार घडीमा नाटकीय रुपमा मूल्यवृद्धिले मुख्य तीनवटा ब्रान्डमा आकर्षण बढेको छ । रोलेक्स, प्याट फ्लिपी र अडमार्स पिगेटमा लगानीकर्ताको ध्यान केन्द्रित छ । ‘यी तीन ब्रान्डको तुलनामा अन्य ब्रान्डप्रति लगानीकर्ताको आकर्षण निकै कम छ’, स्टार्कको भनाइ छ ।
अनलाइनमार्फत घडी बिक्री वितरण गर्दै आएको बब्स वाच्सका प्रमुख कार्यकारी अधिकृत पल अलेरीले रोलेक्सको मूल्य हाल बढेपनि पाँच वर्ष अघिको झैं नभएको बताएका छन् । रोलेक्सको रणनीतिक मूल्य कायम गर्दै हरेक मोडल बिक्री गर्दै आएका उनी भन्छन्, ‘रोलेक्सको मूल्यमा हाल क्रमश वृद्धि हुँदै आएपनि पाँच वर्षअघिकोझैं स्थिति अहिले अलि छैन ।’
रोलेक्सको मूल्य हाल बढ्नुमा आपूर्तिमा आएको कमी मुख्य कारण रहेको उनी बताउँछन् । लोकप्रिय ब्रान्ड रोलेक्सले प्रतिवर्ष ८ लाख थान घडी उत्पादन गर्छ । ब्रान्डको माग धेरै भएपनि निश्चित थान मात्रै उत्पादन गर्ने भएकाले दोस्रो बजारमा भाउ बढ्ने गरेको पलको भनाइ छ ।
सन् २०१७ देखिको तुलना गर्ने हो भने रोलेक्सको भाउ सन् २०२० र २०२२ देखि ह्वात्तै बढ्न थालेको हो । सन् २०२२ को फेब्रुअरीमा रोलेक्सको मूल्यमा औसतमा १३ हजार डलर कायम भएको थियो । सन् २०११ को तुलनामा यो करिब तीन गुणाले बढी हो । सन् २०११ मा औसतमा ५ हजार डलर पर्ने रोलेक्स सन् २०२२ मा १३ हजार कायम भएको थियो । ‘घडी किनेर स्टोर छोड्नु अगावै मूल्यमा दुई गुणासम्म वृद्धि भएको स्थिति छ । रोलेक्स किन्ने सुचीमा आफ्नो नाम चढाउन मात्रै मानिसहरुले २ वर्षसम्म प्रतीक्षा गरेको अवस्था छ’, पल भन्छन् ।
लक्जरी बजारको अनुसार रोलेक्स डेटोना पान्डाको मूल्य सन् २०१७ देखि २०२३ को अवधिमा १०.१५ प्रतिशतले बढेको छ । वाच चार्टस डटकमका अनुसार रोलेक्स कस्मोग्राफ डेटोनाको सन् २०२२ जनवरीमा सुरुवाती मूल्य ८२ हजार १०० डलर रहेकामा सन् २०२४ को मार्च ४ मा ९७ हजार डलर पुगेको छ । यसको मूल्यवृद्धिमा विभिन्न कारणले प्रभाव पारेको छ । त्रुटिरहित शिल्पी, बजारमा उपलब्ध सीमित संस्करण र बजारमा उच्च मागका कारण मूल्यमा प्रभाव परेको हो ।
सीमित उत्पादनकै कारण रोलेक्सले गत डिसेम्बरबाट पूर्व स्वामित्वका घडी बिक्रीको कार्यक्रम आफैँ सुरु गरेको थियो । नयाँ कार्यक्रम अन्तर्गत पूर्व स्वामित्व रहेका घडीमा समेत कम्पनीले ग्यारेन्टी प्रदान गरिरहेको छ । ‘ब्रान्डले नै प्रमाणीकरण गरी ग्यारेन्टी प्रदान गर्दा पूर्व स्वामित्व भएका घडी बिक्रीको प्रमाणिकता थप बढेको छ’, रोलेक्सले विज्ञप्तिमार्फत भनेको छ ।
पूर्वस्वामित्व रहेको घडीको बजार हाल २० अर्ब डलरको रहेको र सन् २०२५ सम्म २९ अर्ब डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । आगामी तीन वर्षमा घडीमा लगानीको प्रतिफल थप बढ्ने स्टार्कको अपेक्षा छ ।
‘हातमा बाँध्नका लागि आकर्षक शिल्पको खोजी गर्नेभन्दा पनि मूल्यको स्थिरता हेरेर घडीमा लगानी गर्नेहरुको संख्या बढिरहेको छ । घडी अब आभूषण वा बिलासिताको वस्तुभन्दा पनि सम्पत्तिका रुपमा हेर्ने दृष्टिकोणको विकास भइरहेको छ’, स्टार्क भन्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।