Main

उद्योगको उत्पादन माग थप साढे १३ प्रतिशत घट्यो

१० साउन, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगको उत्पादन मागमा थप १३.५३ प्रतिशतले कमी आएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्री स्टाटस रिपोर्ट अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा उत्पादन मागमा कमी आएको हो । यस वर्ष उत्पादन तथा सेवामूलक उद्योगको संयुक्त विश्लेषण गर्दा समग्रमा २.६४ प्रतिशतले मागमा कमी आएको देखिएको छ ।

यस अवधिमा उद्योगको आयमा समेत कमी आएको सीएनआईले जनाएको छ । सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो वर्षको यसै अवधिको तुलनामा आय ३.८७ प्रतिशतले घटेको जानकारी गराएका छन् ।

दोस्रो त्रैमासमा पनि आय १.८७ प्रतिशतले कम भएको थियो । माग र राजस्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कुल उद्योगमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासमा नयाँ लगानी नगरेको जनाएका छन् ।

५४.३९ प्रतिशत उद्योगमा जेनेरेटर

नेपालमा उद्योगमा अझै पनि जेनेरेटर चलाउनु पर्ने आवश्यकता रहेको उद्योगीहरूले जनाएका छन् । यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरूले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको बताएका छन् । यसले उत्पादन लागत १२.८९ प्रतिशतले बढाएको समेत रिपोर्टमा उल्लेख छ ।

उद्योगीहरूले आफ्नो कुल चालु पूँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गरिरहेको समेत पाइएको छ । यो अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले धेरै हो । यस किसिमको कर्जाको औसत ब्याजदर ११.२८ रहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button