उदितनारायण र रविराजको स्वरमा ‘जय मधेश’ सार्वजनिक, ‘मधेश गान’ भनिएकोप्रति आलोचना

काठमाडौं । उदितनारायण झा र रविराज साहको स्वरमा ‘जय मधेश’ गीत सार्वजनिक भएको छ । ‘मधेश गान’ भन्दै ल्याइएको उक्त गीत बलिदानी दिवसको अवसर पारेर माघ ५ गते वीरगञ्जमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरु, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सांसदलगायत उपस्थित थिए । गीत निर्माणमा मधेश सरकारले पनि सहयोग गरेको हो ।
मधेश प्रदेशमा बोलिने भाषाहरु मैथिली, भोजपुरीसहित हिन्दी भाषामा उक्त गीत रहेको छ ।
‘मधेश है अपनी आनबान, जीवनधारा है मधेश, मधेश मे बस्ती जान हमारी, प्राण से प्यारा मधेश, मधेश हमारा जिने का मक्सद, रगरग बसा मधेश, मधेश है अस्तित्व हमारा, धर्मा–कर्मा मधेश । जय मधेश, जय मधेश’ ।’
रामभरोस कापडी र डा. सागरको शब्द रहेको गीतमा रविराज साहको संगीत र डीजे भरालीको एरेन्ज छ । ‘रविराज साह अफिसियल’ युट्युब च्यानलमा रिलिज भएको उक्त गीतको भिडियोमा मधेश प्रदेशका आठवटै जिल्लाका दृश्य समेटिएका छन् । प्रदेशको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई यसमा समेटिएको छ ।
‘मधेश गान’ भन्दै गीत ल्याइएकोमा भने सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता अलिखेशकुमार यादव लेख्छन्, ‘मधेश हो भन्नेबित्तिकै बेग्लै मधेश गान सार्वजनिक गर्नु कदापि राम्रो होइन । सर्वप्रथम हामी नेपाली हौं । त्यहीं भएर नेपालको जुन राष्ट्रगान छ त्यो नै हाम्रो लागि उत्तम हो । मधेश राष्ट्रगान होइन । मधेशमा आधारित गीत भन्नुपर्यो र यसमा प्रयोग गरिएको भाषा परिवर्तन गर्नु मधेश सरकार ।’
मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरि लेख्छन्, ‘मधेश गानको प्रस्तुतिमा मेरो आपत्ति छ है । मधेसी शान्तिप्रिय समाज हो । समानता र न्यायकै लागि विभेदविरुद्ध मधेश विद्रोह भएको हो । १५ देखि २० लाख मधेशीले शान्तिपूर्ण मानव शृंखला बनाएर राज्य सत्तालाई जगाउन खोजेकै हो ।’
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने गीत रिलिजको स्वागत गरेका छन् ।
मिडिया कुराकानीमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार अग्रहरिले यसलाई सरकारको आधिकारिक गीत हो कि होइन भन्ने कुरा आफूलाई जानकारी नभएको बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।