लिड्स क्युपिआरसँग हारेपछि लेस्टर प्रिमियर लिगमा बढुवा

१५ वैशाख, काठमाडौं । लेस्टर सिटी प्रिमियर लिगमा बढुवा भएको छ । दोस्रो श्रेणीको लिग च्याम्पियनसिमा क्विन्स पार्क रेन्जर्स (क्युपिआर) ले लिड्स युनाइटेडलाई ४-० ले पराजित गरेपछि लेस्टरको बढुवा पक्का भएको हो ।
लिगमा लिड्सले एक खेल खेल्न बाँकी रहँदा शीर्ष स्थानको लेस्टरभन्दा ४ अंकले पछि छ । लेस्टरको ४४ खेलबाट ९४ अंक छ । ४५ खेल खेलेको लिड्सको ९० अंक छ । मंगलबार साउथह्याम्पटनलाई ५-० ले पराजित गर्दै लेस्टर बढुवा नजिक पुगेको थियो । तर, लिड्स पराजित भएपछि लेस्टर नखेली बढुवा भएको हो ।
२४ क्लब रहेको च्याम्पियनसिपबाट शीर्ष दुई टोली सिधै प्रिमियर लिगमा बढुवा हुनेछन् भने तेस्रो देखि छैटौंसम्म रहनेले बढुवाका लागि प्लेअफ खेल्नेछन् । जसबाट एक टोली मात्र बढुवा हुनेछ ।
लेस्टर सिटीले च्याम्पियनसिपमा बाँकी दुवै खेल जितेमा १०० अंक जोड्नेछ ।
यस्तै सोमबार हुने खेलमा लेस्टरले प्रेस्टनलाई पराजित गरेमा र तेस्रो स्थानको इप्स्विच हल सिटीसँग पराजित भएमा लेस्टर एक खेल अगावै च्याम्पियनसिपको च्याम्पियन बन्नेछ ।
यस्तै इप्सविचले बाँकी तीन खेलबाट ५ अंक जोडेमा लिड्सलाई पछि पार्दै दोस्रो स्थानमा पुग्दै प्रिमियर लिगमा बढुवा हुनेछ ।
इप्स्विच ४३ खेलबाट ८९ अंक जोड्दै तेस्रो स्थानमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।