लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन प्रस्थान
२६ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमबार मुख्यमन्त्री आचार्य त्यसतर्फ प्रस्थान गरेका हुन् ।
चाइना एयरलाइन्सको ५.५५ बजेको फ्लाइटमार्फत उनी त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न नोभेम्बर ११ देखि १३ (कात्तिक २६, २७ र २८ गते ) अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।
यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।
मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई आइतबार बसेको संघीय सरकार मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो । यसअघि २० कात्तिकमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको थियो ।
मुख्यमन्त्री विदेश रहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
२०७६ सालमा तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरी कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।