लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको विश्वविद्यालयबीच सहकार्य सम्झौता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो।
समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन्। यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी भएको थियो।
सो अवसरमा प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य र नेपालस्थित चीनियाँ दूतावासका अधिकारीलगायतको उपस्थिति रहेको थियो।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।