सभामुखको निर्णयप्रति जनमतको प्रतिक्रिया : उहाँ निष्पक्ष भूमिकामा देखिनु भएन

७ मंसिर, काठमाडौं । जनमत पार्टीले सभामुख देवराज घिमिरेको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाएको छ ।
सभामुख घिमिरेले सांसद गोमालाभ सापकोटालाई नहटाउने निर्णय गरेपछि उक्त निर्णय प्रति असन्तुष्टि जनाउँदै जनमतले यस्तो आरोप लगाएको हो ।
सभामुख घिमिरेले दलको सर्वोच्चतालाई स्वीकार गर्न नसकेको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले बताएका छन् ।
‘सभामुख पनि निष्पक्ष हुनुहुन्न भन्ने कुरा देखियो । उहाँलाई हरेक कुरा प्रधानमन्त्री कार्यालयबाट आउनुपर्ने अनि मात्रै आदेशको पालना गर्ने जस्तो देखियो,’ यादवले भने ।
सापकोटालाई हटाउन यस अघि जनमतले तीन पटक पत्र लेख्दा सभामुख घिमिरेले प्रक्रिया पुर्याएर पत्र लेख्न सुझाव दिएका थिए ।
चौथोपटक पत्र पठाएपछि सभामुख घिमिरेले सांसद सापकोटालाई नहटाउने निर्णय लिएका थिए ।
प्रक्रिया पूरा नभएको जवाफ आएपछि पार्टीले सबै प्रक्रिया पूरा गरी पत्र लेखेको यावदको भनाइ छ ।
‘यसपटक सबै प्रक्रिया पुर्याएर बहुमत सदस्यले पार्टीबाट गोमालाभलाई हटाएका हौं । त्यसलाई पनि सभामुखले लत्याउनु भयो,’ यादवले अनलाइनखबरसँग भने ।
पार्टी सदस्यबाट हटाएपछि सांसद पद नरहने व्यवस्था भए पनि त्यसको कार्यान्वयन सभामुखले नगरेको यादवको आरोप छ ।
ढाकाकुमार श्रेष्ठ र सरिता गिरीलाई दलहरूले पत्र लेख्दा सांसद पद गएको तर पार्टी विरुद्ध काम गरेको भनी सापकोटालाई हटाउन खोज्दा सभामुखले अवरोध गरेको जनमतको तर्क छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।