लेभरकुजनले जित्यो जर्मन कपको उपाधि

१३ जेठ, काठमाडौं । ग्राइन्ट जाकाको एक मात्र गोल मद्दमा काइजरस्लाटनलाई १-० ले पराजित गर्दै बायर लेभरकुजनले जर्मन कपको उपाधि जितेको छ ।
बर्लिनस्थित ओलम्पिया स्टाडियनमा शनिबार राति भएको खेलमा लेभरुकजनका लागि जाकाले १६औं मिनेटमा गोल गरेका थिए । त्यही गोल च्याम्पियन बन्न निर्णायक बन्यो ।
४४औँ मिनेटमा डिफेन्डर ओडिलोन कोसोनोउ रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेभरकुजन १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफ पूरा एक खेलाडी कम रहेर खेलेपनि लेभरकुजनले विपक्षीलाई गोल गर्न दिएन ।
लेभरकुजनले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग र कप दुवै उपाधि जितेको हो । लेभरकुजनले दोस्रो पटक जर्मन कपको उपाधि जितेको हो । यसअघि लेभरकुजनले सन् १९९३ मा जर्मन कप जितेको थियो ।
यस सिजन लेभरकुजनले अपराजित रहँदै जर्मन बुण्डेसलिगाको उपाधि जित्ने कीर्तिमान बनाएको थियो । यस्तै लगातार ५१ खेलमा अपराजित रहँदै अर्को कीर्तिमान पनि बनाएको थियो ।
तर युराप लिगको फाइनलमा भने एटलान्टासँग ३-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।