Main

२०७२ को भूकम्पदेखि अचेत छन् कृष्णहरि

२ माघ, काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका– ३ का ३४ वर्षका कृष्णहरि पुडासैनी ८ वर्षदेखि अचेत छन् । २०७२ वैशाख १२ को भूकम्पमा परेर घाइते उनको अहिलेसम्म होस छैन । उनका आँखा खुल्ला भए पनि मान्छे चिन्दैनन् । कसैले बोलाउँदा कुनै प्रतिक्रिया दिन सक्दैनन् ।

पर्यटक गाइड उनी त्यस दिन १३ जना इजरायली पर्यटक लिएर रसुवाको लाङटाङ जाँदै थिए । भूकम्पपछि खसेको पहिरोमा पुरिएका उनको चार दिनपछि उद्धार भएको थियो ।

बुबा लीलानाथका अनुसार कृष्णहरिको खुट्टामा घाउ भएको थियो । उनी सुरुमा अलि अलि बोल्न र आफैं खाना खान सक्थे । तर उपचारकै क्रममा अस्पतालमा २०७२ असार १२ गते उनी एक्कासी बेहोस भए ।

त्यसपछि बालाजुको जनमैत्री अस्पतालमा ५० दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि होस नआएपछि राष्ट्रिय ट्रमा सेन्टरमा सारिएको थियो । ट्रमा सेन्टरमा ९ महिना १४ दिन उपचार गर्दा पनि होस नआएपछि चिकित्सकहरुले घर लैजान भनेको लीलानाथ बताउँछन् ।

छोरा होसमा आउने आशामा लीलानाथले विभिन्न सहयोगीसँग हारगुहार गरे । धेरै प्रयासपछि काठमाडौंमा रहेको मेडिकल पुनस्र्थापना संस्थाले कृष्णहरिलाई राखेको थियो । उक्त संस्थामा कृष्ण ८ वर्ष बसे ।

८ वर्षसम्म पनि होसमा नआएपछि पुडासैनीलाई पुनर्स्थापना संस्थाले घरमै लगिदिएको छ । ‘हामीले ८ वर्षसम्म उपचारदेखि खान बस्ने सहयोग गरेका थियांै’, संस्थाका अध्यक्ष सम्राट सिंह बस्नेतले भने, ‘तर उनको होस नै नआएपछि हामीले घरमा लगिदिएका हौं ।’

८ वर्षदेखि कृष्णहरिलाई नाकबाट पाइप जोडेर तरल खानेकुरा खुवाउने गरिएको छ । छोराको उपचारमा ५० लाख रुपैयाँ खर्च भएको र औषधिमा मासिक १६ हजार रुपैयाँ खर्च हुने बाबु लीलानाथ बताउँछन् । तर सरकारबाट ५० हजार रुपैयाँ सहयोग पाएको उनको भनाइ छ ।

कृष्णहरि २०७१ चैतमा आमा राधालाई ६ महिनापछि आउँछु भनेर घरबाट निस्किएका थिए ।

आमाले ट्रेकिङ जान लागेको छोरालाई हिमालमा जादा हिउँ पहिरो आउँछ, बाटोमा हिँड्दा विचार गरेर जानू, बचेर काम गर्नू, चाँडै फर्केर आउनू भनेकी थिइन् ।

राधाले जुन आँगनबाट कृष्णहरिलाई बिदा गरेकी थिइन्, त्यही आँगनमा गत मंसिरमा कृष्णहरि अचेत अवस्थामा फर्किए ।

कृष्णहरिले ट्रेकिङबाट फर्केपछि मंसिरसम्ममा बिहे गरौंला भनेका थिए । छोराको बिहे गर्ने चाहना अधुरै भएको बताउँदै राधा भन्छिन्, ‘दैबको लिला भनौं कि मेरो भाग्य, मैले धर्ती बिसाउने बेलामा छोराको यो हालत भयो ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button