सरोकारवाला भन्छन् : गरिबी निवारणमा लघुवित्त अपरिहार्य

२१ भदौ, काठमाडौं । गरिबी निवारण तथा ग्रामिण अर्थतन्त्र विकासका लागि लघुवित्त अभियान अपरिहार्य भएको सरोकारावालाले बताएका छन् ।
पछिल्लो समय लघुवित्त खारेजीको नारा समेत लाग्न थालेको सन्दर्भमा उनीहरूले ग्रामिण अर्थतन्त्रको विकास एवम् गरिबी निवारणका लागि लघुवित्तको विकल्प नभएको बताएका हुन् ।
नेपालका लागि लघुवित्तका पिता भनेर चिनिने डा. हरिहर देव पन्तको नवौं स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् ।
उनीहरूले स्थानीयस्तरमा उत्पादन एवम् उद्यमशीलता वृद्धि, रोजगारी सिर्जना तथा जनताको आर्थिक उन्नतिका लागि लघुवित्त अपरिहार्य भएको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद भगवती चौधरीले लघुवित्त क्षेत्रमा समस्या देखिएको र यसको समाधान सबै पक्ष मिलेर गर्न सकिने बताइन् ।
तर, आन्दोलनका नाममा लघुवित्त संस्थालाई मात्रै दोषी करार गर्न नमिल्ने उनको भनाइ छ ।
‘अहिले लघुवित्तमा समस्या देखिएको छ, यसको कारक संस्थादेखि ग्राहक र नियमनकारी निकाय लगायत सबै हुन्, सबै जिम्मेवार भएका कारण मिलेर समस्या समाधान गर्नुपर्छ,’ उनले भनिन्, ‘ग्रामिण अर्थतन्त्र विकासमा लघुवित्तको विकल्प छैन, यसले महिलाको आर्थिक सशक्तीकरणमा समेत महत्त्वपूर्ण योगदान गरिरहेको छ ।’
सांसद चौधरीले लघुवित्तको ऋण मिनाहा गरिदिने भन्दै ठगीधन्दासमेत हुन थालेको बताइन् ।
‘आन्दोलनमार्फत ऋण मिनाह गराइदिने भन्दै लघुवित्त ऋणीबाट एक हजार देखि ५ हजारसम्म उठाएको समेत सुनिएको छ,’ उनले भनिन्, ‘त्यसैले नियमनकारी निकाय, लघुवित्त संस्था र ऋणी मिलेर समस्या समाधान गर्नुपर्छ ।’
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् माइक्रोफाइनान्स सुपरिवेक्षण विभाग प्रमुख विमलराज खनालले लघुवित्तको मर्म विपरीतका कार्य हुँदा समस्या सिर्जना भएको बताए ।
‘लघुवित्तको मर्मअनुसार काम भएन, एउटै व्यक्तिलाई धेरै संस्थाले कर्जा प्रवाह गरे, संस्थाहरूले पनि छिटो नाफा आर्जन गर्न खोजे, संस्थाहरू धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा समेत भयो,’ उनले भने, ‘संस्था र ऋणी दुवैको नियतले समस्या ल्यायो, अहिले समाधान हुँदै गइरहेको छ ।’
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपालको ग्रामिण जनता र खासगरी महिलालाई आर्थिक क्षेत्रमा जोड्ने काम लघुवित्त क्षेत्रले गरेको बताए ।
बीमा प्राधिरकणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले गरिबी अन्त्यका लागि लघुवित्त आवश्यक रहेको भन्दै यसको समस्या समाधानका लागि सञ्चालक तथा नियमनकारी निकायले समिक्षा र सुधार गर्नुपर्ने बताए ।
रिजाललाई आर्थिक पत्रकारिता पुरस्कार
यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार पत्रकार कृष्ण रिजाललाई प्रदान गरिएको छ ।
स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशिको सो पुरस्कार रिजालले प्रदान गरिएको हो ।
फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।