वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र प्यालेस्टाइन सेमिफाइनलमा

११ फागुन, काठमाडौं । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । समूह बी अन्तर्गत बिहीबारको खेलमा नेपाल र प्यालेस्टाइन दुवै विजयी भएपछि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
गएरातिको खेलमा प्यालेस्टाइनले सिरियालाई १-० ले पराजित गरेपछि नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ । त्यसअघि नेपालले इराकलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको थियो ।
समूह बी मा नेपाल र प्यालेस्टाइन दुवैले लगातार दोस्रो खेल जित्दै ६ अंक जोडेका छन् । तर गोलअन्तरमा नेपाल अघि छ ।
अब शनिवार हुने नेपाल र प्यालेस्टाइनबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो ।
लगातार दुई खेल हारेका इराक र सिरिया भने समूह चरणबाटै बाहिरिएका छन् ।
८ टोली सहभागी प्रतियोगितामा समूह ए बाट जोर्डन र लेवानोनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुवैले लगातार दुई खेल जितेका छन् ।
अब शुक्रबार हुने यी दुई टोलीको खेलबाट समूह ए को विजेता र उपविजेता निर्णय हुनेछ । नेपालले सेमिफाइनलमा यी दुई मध्ये एक टोलीसँग खेल्नुपर्नेछ ।
जोर्डन साविक विजेता समेत हो भने अहिलेसम्म भएको ७ मध्ये ५ संस्करणको रुपमा पनि जितेको छ । लेवानोनको सबैभन्दा राम्रो नतिजा भनेको उपविजेता हो । गत संस्करणको फाइनलमा लेवानोन जोर्डनसँग नै पराजित भएको थियो । यस्तै लेवानोन दुई पटक तेस्रो भएको थियो ।
पहिलो पटक प्रतियोगिता खेल्दै आयोजकको रुपमा रहेको साउदी अरेबिया र पहिलो पटक नै सहभागिता जनाएको ग्वाम समूह ‘ए’ मा लगातार दुई खेल हार्दै बाहिरिसकेको छ ।
यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बा सर्वाधिक ६ गोल गर्दै शीर्ष स्थानमा छिन् । पहिदलो खेलमा सिरिया विरुद्ध एक गोल गरेकी उनले दोस्रो खेलमा इराकलाई नेपालले ५-० ले हराउँदा पाँचै गोल गरेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।