Main

विजय बरालले ‘लाज शरणम्’को छायांकन सके, अब नाटक रिहर्सलमा

काठमाडौं । अभिनेता विजय बरालले फिल्म ‘लाज शरणम्’को छायांकन सकेका छन् । सोमबार बेलुकासम्म काठमाडौंको माइतीघरस्थित खाद्य गोदाममा उनको भागको छायांकन भइरहेको थियो ।

सुटिङ सकेपछि विजय मंगलबारदेखि मण्डलामा नाटक ‘हरि हजुरबा’को रिहर्सलमा व्यस्त छन् । ‘उहाँको दुई दिनको काम बाँकी थियो, त्यो सोमबार नै सकियो’ ‘लाज शरणम्’का छायाकार सुदीप बरालले अनलाइनखबरसँग भने, ‘बाँकी पाँच दिनको छायांकनका लागि हामी मुस्ताङ जाँदैछौं ।’

केही दिन मुस्ताङमा रहेर बाँकी छायांकन टुंग्याउने तयारी छ । जिग्री ब्रोले निर्देशन गरिरहेको यो सोसल कमेडी ड्रामा महाशिवरात्रीमा प्रदर्शन लक्ष्य राखिएको छ । हिट टिभी सिरियल ‘सक्किगो नि’ टिमको भएकाले पनि दर्शकमाझ यो फिल्म प्रतीक्षित छ ।

विजय बरालको कुरा गर्दा उनी अबको दुई महिना नाटकमा व्यस्त हुनेछन् । नाजिर हुसेनले निर्देशन गर्न लागेको नाटकमा विजय र नाजिरको शीर्ष भूमिका हुनेछ । त्यसपछि उनी बाँसुरी फिल्म्सले बनाउन लागेका ‘कबड्डी ५’ र ‘जारी २’ को छायांकनमा व्यस्त हुनेछन् ।

विजयको शीर्ष भूमिका रहेको ‘पूर्णबहादुरको सारङ्गी’ अहिले हलमा प्रदर्शन भइरहेको छ । यो फिल्मले २१ दिनसम्म देशव्यापी साढे ४३ करोड रुपैयाँ ग्रस कमाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button