वितरकले हलबाट ‘अव्यवहारिक एमजी’ मागेपछि रोक्न चलचित्र संघको चेतावनी
काठमाडौं । केही वितरकले मोफसलका हलबाट अव्यवहारिक मिनिमम ग्यारेन्टी (एमजी) र फिक्स माग गरेपछि प्रदर्शकको छाता संस्था चलचित्र संघले यो कार्य रोक्न चेतावनी दिएको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो कार्य नरोकिए कदम चाल्ने चेतावनी दिएको छ । फिल्मले जति ब्यापार गर्छ, सोही अनुपातमा लेनदेन गर्नुपर्ने व्यापारको मूल्यमान्यता र सर्वमान्य सिद्धान्त भएको संस्थाले उल्लेख गरेको छ ।
प्रदर्शकबाट वितरकले अव्यवहारिक एमजी मागेको गुनासो संस्थामा आएकाले गुनासो आएका वितरकलाई बोलाएर छलफल गराउने तयारी संस्थाको छ । ‘अन्यथा नेपाल चलचित्र संघले चाल्ने कदमको उत्तरदायी स्वयम वितरक संस्था हुने व्यहोरा जानकारी गराउँदछौं’ महासचिव सुरेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तत्कालिन सरकारले करमा समेत अव्यवहारिक एमजीको व्यवस्था गर्दा अदालतले समेत त्यसलाई खारेज गरेको नजिर पनि संघले उल्लेख गरेको छ । ‘विशेषगरि मोफसलका हलबाट यसबारेका गुनासो धेरै आएको छ । हामी सम्बन्धित वितरकलाई बोलाएर स्पष्टीकरण सोध्छौं’ प्रवक्ता समेत रहेका थापाले भने, ‘यस्ता गैरकानूनी कार्य रोक्न हामी प्रतिबद्ध छौं ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।