विद्यार्थीलाई स्वस्तिमाको टिप्स : आफ्नो सपनालाई विश्वास गर्नुस्

काठमाडौं । स्वस्तिमा खड्का अहिलेकी व्यस्त अभिनेत्री हुन् । उनले निर्माण तथा अभिनय गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ दशैंमा रिलिज भयो । यसले बक्स अफिसमा राम्रै कमाइ गर्यो ।
उनी यतिबेला प्रकाश सपुतसँग फिल्म ‘वसन्त’मा काम गरिरहेकी छिन् । योसँगै उनको व्यस्तता सामाजिक कार्यमा पनि छ । स्वस्तिमाले आइतबार काठमाडौं महानगरका सामुदायिक विद्यालयका विद्यार्थीसँग अन्तरक्रिया गरिन् ।
विद्यार्थीलाई उनले कसरी सफल बन्ने र लक्ष्य पूरा गर्ने भन्नेबारेमा जीवनोपयोगी टिप्स दिइन् । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वास नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन’ उनले भनिन्, ‘तर तपाईंमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन त्यसले चाहिं फरक पार्छ ।’
स्वस्तिमाले आफूप्रति अभिभावकले गर्ने चिन्तालाई सकारात्मक रुपमा लिन समेत आग्रह गरिन् । छलफलमा विद्यार्थीले स्वस्तिमा अभिनित फिल्म, डेब्यु अनुभव, संघर्षबारे प्रश्न सोधेका थिए ।
जवाफमा खड्काले भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिनँ । उच्च शिक्षामा पनि इञ्जिनियरिङ पढें । गणित गाह्रो लाग्थ्यो । मेहनत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’ वैवाहिक जीवनबारे सोधिएको अर्को जिज्ञासामा उनले एकअर्कालाई बुझ्न सक्ने भएपछि पेशा अघि बढाउन सजिलो हुने बताइन् ।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा स्वस्तिमाले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीसँग अन्तरक्रिया गरेकी हुन् ।
उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सचिवालय सल्लाहकार तथा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ पनि थिइन् । उनले पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता कारणले बालबालिकामा आउन सक्ने हीनताबोध हटाउन काम गरिरहेको बताइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।