Main

परिवर्त्य विदेशी मुद्रामा ऋण लिएकालाई राष्ट्र बैंकको सहजीकरण

३० असोज, काठमाडौं । परिवर्त्य विदेशी मुद्रामा ऋण लिएकालाई सहजीकरण गर्ने गरी विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशिका संशोधन गरिएको छ ।

‘परिवर्त्य विदेशी मुद्रामा लिएको ऋणको किस्ता (सावाँ, ब्याज) विभिन्न परिस्थितिजन्य कारण सम्बन्धित फर्म/कम्पनी/उद्योगको विदेशी मुद्रा आम्दानी नभएर परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था भए २०८२ असार मसान्तसम्मका लागि सम्बन्धित बैंक–वित्तीय संस्थाले प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा असुल गराउन सक्नेछ,’ राष्ट्र बैंकको संशोधित निर्देशनमा छ ।

मनिचेन्जरले पनि ‘प्वाइन्ट अफ सेल्स’ (पीओएस) र ‘क्यूआर कोड’ लगायत विद्युतीय माध्यमबाट सटही सुविधा दिन सक्ने व्यवस्था गरेको छ ।

निर्देशिका संशोधन गर्दै राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनिमयावली, २०७७ (चौथो संशोधन) का आधारमा उक्त व्यवस्था गरेको हो ।

यस्तै नेपालमा कार्यरत परिवर्त्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने भारतीय नागरिकले प्रमाणित हुने कागजातका आधारमा परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न तथा सञ्चालन गर्न पाउने भएका छन् ।

त्यस्तै होटलहरूले आफ्ना ग्राहकलाई दिन सक्ने सटही सुविधा सीमा समेत बढेको छ । हाल प्रतिग्राहक अधिकतम ३ सय अमेरिकी डलर वा त्यस बराबरसम्म परिवर्त्य विदेशी मुद्रा एक बसाइ अवधिमा एकै पटक वा पटक–पटक गरी सटही प्रदान गर्न सक्ने व्यवस्था रहेकोमा अब १ हजार डलर पुगेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले विप्रेषण कारोबार गर्न राष्ट्र बैंकबाट स्वीकृति प्राप्त विदेशी संस्थासँगको विप्रेषण कारोबारको फछ्र्याेट ‘फेडान दर’ (फरेन एक्सचेन्ज डिलर एसोसिएसन अफ नेपालले प्रकाशित गर्ने दर) मा गर्नुपर्ने व्यवस्था गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button