विवादले कारबाही भोगेका प्रहरीको निलम्बन फुकुवा

२ वैशाख, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीका छोरासँग विवाद हुँदा कारबाहीमा परेका प्रहरीको निलम्बन फुकुवा भएको छ ।
पूर्व बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहेकी सांसद चौधरीका दुई छोरा रविरन्जन, अभिरन्जनका साथै उनीहरूसँगै भएका अच्युत झालाई चेकजाँच गर्दा भएको विवादले गर्दा ९ प्रहरी कारबाहीमा परेका थिए ।
प्रहरी प्रभाग इमाडोलमा कार्यरत रहेका असई तेजबहादुर श्रेष्ठसहित ९ जना कारबाहीमा परेका थिए । ८ जनालाई सामान्य कारबाही गरिए पनि हवल्दार रामचन्द्र पाठक भने निलम्बनमा परेका थिए ।
शक्ति केन्द्रको दबाबमा विना गल्ती आफूहरूमाथि कारबाही भएको दाबी प्रहरी अधिकारीहरूको थियो । अन्ततः निलम्बनमा परेका हवल्दार पाठकको कारबाहीलाई फुकुवा गरिएको छ ।
निलम्बन गरिएको करिब डेढ महिनामा हवल्दार पाठकको कारबाही फुकुवा गरिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले हवल्दार पाठकको निलम्बन फुकुवा भएको पुष्टि गरे । हवल्दार अहिले परिसरमै नियमित ड्युटीमा खटिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।