सहरमा ‘भाडाको घर’ प्रयोग गर्ने परिवार १८ प्रतिशत

७ चैत, काठमाडौं । नेपालमा सहर भनी वर्गीकरण गरिएका नगरपालिका क्षेत्रभित्र कुल १८ प्रतिशत परिवार भाडाका घरमा बसोबास गरिरहेको पाइएको छ ।
जनगणना २०७८ को तथ्यांक अनुसार नगरपालिका क्षेत्रभित्र ८१ प्रतिशत परिवार आफ्नै स्वामित्वका घरमा बसोबास गर्छन् । १८ प्रतिशत परिवार भने भाडाका घरमा बसिरहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।
जनगणना २०७८ अनुसार नेपालमा ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवार छन् । त्यसमध्ये ८६ प्रतिशत परिवार आफ्नै घरमा बस्छन् । १२.८ प्रतिशत परिवार भाडाका घरमा बस्छन् । बाँकी भने सरकारी वा संस्थागत कार्यालय र अन्य प्रकारका आवासीय एकाइमा बस्ने गरेको देखिएको छ ।
सहरमा भने ग्रामीण भेगको तुलनामा धेरै मानिस भाडाको घरमा बसिरहेको तथ्यांकले देखाएको छ । ग्रामीण भेगमा भने अझै पनि ९७ प्रतिशत परिवार आफ्नै स्वामित्वका घरमा बसोबास गर्छन् ।
घरको स्वामित्व नभएका परिवार संख्या बढ्दै
तथ्यांक अनुसार नेपालमा घरको स्वामित्व नभएका परिवार संख्या बढ्न थालेको देखिएको छ । २०४८ सालको जनगणना अनुसार नेपालमा ९२.६ प्रतिशत परिवारको आफ्नै घर थियो ।
२०७८ सालमा भने यस्तो संख्या ८६ प्रतिशतमा झरेको छ । अर्थात्, ३० वर्षमा आफ्नै स्वामित्वको घरमा बसोबास गर्ने परिवार संख्या ६ प्रतिशतले घटेको छ । घटेको परिवार भाडाको घरमा बस्ने गर्छ ।
भौगोलिक क्षेत्र अनुसार पहाडी क्षेत्रमा २० प्रतिशत परिवार भाडाको घरमा बस्छन् । हिमालमा ५ प्रतिशत मानिस भाडाको घरमा बस्ने गरेको समेत पाइएको छ ।
तराई क्षेत्रमा ९ प्रतिशत परिवार भाडाको घरमा बस्छन् । प्रदेश अनुसार मधेशमा सबैभन्दा कम २.३ प्रतिशत परिवार र बागमती प्रदेशमा ३० प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको पाइएको छ । यसले काठमाडौं उपत्यकाको बढी प्रतिनिधित्व गरेको देखिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।