आजदेखि हलमा लागे ‘मनसरा’ र हलिउडको ‘द फल गाइ’

काठमाडौं । नेपाली भाषाको ‘मनसरा’ र हलिउडको ‘द फल गाइ’ आजदेखि फिल्म हलमा रिलिज भएका छन् । घरेलु बक्स अफिसमा ‘बोक्सीको घर’को दबदबा जारी रहँदा यी दुई फिल्म प्रदर्शनमा आएका हुन् ।
उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’ले निःसन्तान दम्पतीको व्यथा, समयक्रममा हराएका पात्रको पुनर्मिलन, काँठका बासिन्दाले जीविकोपार्जनमा गर्दा आउने समस्या, अन्तरजातीय सम्बन्धको आयामबारे कथा भन्छ ।
१३९ मिनेट रनटाइमको यो फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, दयाहाङ राई, मेनुका प्रधानको शीर्ष भूमिका छ । ‘जारी’ फेम्ड निर्देशक सुब्बाको यो दोस्रो कथानक फिल्मलाई सोसल-ड्रामा जनरामा राखिएको छ ।
डेभिड लिच निर्देशित हलिउड फिल्म ‘द फल गाइ’ पनि शुक्रबारदेखि नेपालमा रिलिज भएको छ । रायन गोस्लिङ, एमिली ब्लन्ट, हन्ना वडिङ्हम स्टारर यो फिल्मले एक स्टन्टम्यानको कथा भन्छ जसले हराएको आफ्नी पूर्वप्रेमिकाको ब्लकबस्टर फिल्मको स्टारको खोजी गर्नुपर्छ ।
एक्सन-कमेडी ड्रामा जनरामा राखिएको यो फिल्मको रनटाइम १२७ मिनेट । यसलाई नेपालको सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।