Main

विश्वकप खेल्ने कुरामा अझै विश्वास लागेको छैन : सोनी

३ मंसिर, काठमाडौं । गत साता इतिहास रच्दै पहिलोपटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुने टोलीकी उपकप्तान हुन् सोनी पाख्रिन । महत्वपूर्ण खेलमा यूएईलाई हराउँदै नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको उपाधि जितेको थियो ।

खेलमा सोनीले ओपनर सना प्रविनसँग मिलेर साझेदारी बनाउँदै नेपाललाई आवश्यकता अनुसारको नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेलिन् ।

कप्तान पुजा महतोजस्तै उनी पनि सिनियर टोलीबाट खेलिसकेकी खेलाडी हुन् । उनले सिनियर टिमबाट धेरै खेल भने खेलेकी छैनन् । २ खेल खेल्दा उनले ब्याटिङ भने गरेकी छैनन्, बलिङबाट १ विकेट लिएकी छन् ।

यद्यपि धेरै खेल नखेलेको भएपनि सिनियर टोलीसँगको अभ्यास र सिनियर खेलाडीहरुबाट सिकेको कुराहरू उनीभित्र पूर्ण छ । त्यसैले उनलाई पुजाको सहायक भूमिकामा यू-१९ टोलीमा राखिएको थियो ।

विश्वकपमा छनोट भएको टोलीकी उपकप्तान सोनी पाख्रिनले विश्वकपमा छनोट भएको क्षणबारे विमानस्थलमा पनि भनेकी थिइन्, ‘त्यो एकदम भावुक क्षण थियो, हामी सोच्नै सकिरहेंका थिएनौं’ भनेर । उनी टिमले निकै राम्रो प्रदर्शन गरेर यो सम्भव भएको बताउँछिन् ।

‘एकदमै सोचेजस्तै टुर्नामेन्ट भयो, कोचहरुले पनि राम्रो मेहेनत गराइराख्नुभाथ्यो । राम्रो खेल्यौं भने छनोट हुन सक्छौं भन्ने थियो । सबैको मिहिनेत र एफर्टले देशको लागि उपलब्धि हासिल गर्दा निकै खुसी लागिरहेको छ’, उनले अनलाइनखबरसँग भनिन् ।

विश्वकपमा छनोट भएको त्यो पलको सम्झना गर्दै उनी भन्छिन, ‘हामीलाई अवस्था थाहा थियो, १६.२ ओभरमा ८४ रनको लक्ष्य पूरा गर्नुपर्ने । अन्तिम क्षणमा २ रन चाहिएको बेला सना प्रविनले खेलेको बलमा बाउन्ड्री गएपछि जित पक्का भयो अनि हामीले गरेको मिहिनेत सम्झिएँ, त्यो क्षण चाहिँ एकदम भावुक क्षण थियो’ ।

कप्तान पुजासँगै सिनियर टिममा खेलिसकेकी सोनीले त्यहाँको अनुभवले निकै फाइदा पुगेको बताइन् । ‘सिनियर टिममा खेलिसकेको अनुभवले विशेषगरी प्रेसरको अवस्थामा धेरै नै फाइदा पुग्छ, यूएईसँगको खेलमा दबाब थियो, त्यो अनुभव नभएको भए सायद त्यसरी शान्त भएर खेली जित निकाल्न सकिन्थेन पनि होला’, उनले भनिन् ।

नेपाली टोली यूएई जानुअघि दिल्लीमा अभ्यास क्याम्पमा पनि गएको थियो । त्यहाँबाट पनि धेरै फाइदा पुगेको उल्लेख गर्दै उनले भनिन्, ‘क्यानबाट पनि धेरै राम्रो व्यवस्थाहरु भयो । त्यहाँ धेरै राम्रो टिम भएकाले त्यहाँ सिकेको कुराले धेरै फाइदा पुगेको थियो हामीलाई ।

‘कोचले पनि भन्नुभएको थियो यो टिमले महिला क्रिकेटको रुप नै बदल्छ भन्नुभएको थियो, तिमीहरुले गर्न सक्छौ भन्दै हुनुहुन्थ्यो । अब अर्को ५ देखि १० वर्षमा नेपाली महिला क्रिकेट एकदमै राम्रो हुनेछ’, उनको भनाइ छ ।

नेपाली क्रिकेटमा अझै राम्रो गर्नका लागि धेरै खेलहरु खेल्नुपर्ने उनी बताउँछिन् । ‘हामीले स्किलमा काम गर्नुपर्छ, फिटनेशमा पनि राम्रो हुनुपर्छ । दबाबपूर्ण अवस्थामा खेल्न सक्ने म्याचुरिटी अझै आइसकेको छैन त्यो आवश्यक छ’, उनले भनिन् ।

विश्वकपका लागि मैदान उत्रँदै गर्दाको क्षण कल्पना गर्ने कुरामा सोनीको यस्तो भनाइ थियो, ‘अझै पनि विश्वास नै लागिरहेको छैन हामी विश्वकप खेल्दै छौं भनेर, अझै पनि हामीभित्र त्यो कुराले स्थान लिइसकेकै छैन, हेरौं अब माहोल कस्तो हुन्छ ।’

छनोट प्रतियोगितामा सोनीले ६ खेलमा कुल ११९ रन बनाइन् । २ खेलमा नटआउट रहेकी उनले ४३ रनको सर्वाधिक स्कोर बनाएकी थिइन् ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button