भारतीय अर्बपति गोदरेज परिवार विभाजित

२० वैशाख, काठमाडौं । १२७ वर्ष पुरानो गोदरेज समूहको संस्थापक परिवार अहिले दुई समूहमा विभाजन भएको छ । साबुन, घरेलु उपकरणदेखि घरजग्गासम्म व्यवसायिक विस्तार गरेको यो समूह दुई समूहमा विभाजन भएको हो ।
८२ वर्षीय आदि गोदरेज र उनका भाइ ७३ वर्षीय नादिर गोदरेजको एउटा समूह बनेको छ । ७५ वर्षीय भतिज जमसिद र भतिजी ७४ वर्षीया स्मिता गोदरेजको अर्को समूह बनेको छ । समूह विभाजन भएसँगै यसअन्तर्गतका सम्पत्ति तथा कम्पनीहरू बाँडफाँट भएको सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
विभाजनपछि गोदरेज इन्टरप्राइजेज ग्रुप र गोदरेज इन्डस्ट्रिज ग्रुप गरी दुई समूह बनेका छन् ।
गोदरेज इन्टरप्राइजेज ग्रुप : यस समूहमा अब गोदरेज एण्ड बोयस कम्पनी रहनेछ । जसले एयरस्पेस तथा उड्डयनदेखि रक्षा, फर्निचर र आईटी सफ्टवेयरसम्मका धेरै उद्योगहरूमा लगानी गरेको छ । अब यस कम्पनीलाई जमसिदले आफू अध्यक्ष र प्रबन्ध निर्देशकको रूपमा रहेर सञ्चालन गर्ने भएका छन् ।
जसमा उनकी बहिनी स्मिताकी छोरी ४२ वर्षीया निरिका होलकार कार्यकारी निर्देशक हुनेछिन् । यहीं नयाँ समूहले मुम्बईमा रहेको ३ हजार ४ सय एकड जमिन सहित ल्यान्ड बैंक पनि पाएको छ ।
गोदरेज इन्डस्ट्रिज ग्रुप : यस समूहअन्तर्गतका कम्पनीहरू गोदरेज इन्डस्ट्रिज, गोदरेज उपभोक्ता उत्पादन, गोदरेज प्रोपर्टिज, गोदरेज एग्रोभेट र एस्टेक लाइफ साइन्स हुन् । अब यस ग्रुपको अध्यक्ष नादिर गोदरेज हुन्छन् भने आदि र नादिर दुवैका परिवारद्वारा सञ्चालन हुनेछ । आदिका छोरा ४२ वर्षीय पिरोजशा ग्रुपको कार्यकारी उपाध्यक्ष हुनेछन् र अगस्ट २०२६ मा नादिरको परिवार सदस्य उत्तराधिकारी हुनेछन् ।
यो विभाजनलाई गोदरेज परिवारले भने विभिन्न कम्पनीमा सेयर स्वामित्व परिवर्तन गरिएको बताएको छ । ‘बलियो सम्बन्ध कायम राख्दै गोदरेज परिवारका सदस्यहरूको फरक दृष्टिकोणको मान्यतामा सेयर संरचनालाई नयाँ तवरमा परिवर्तन गरिएको छ,’ ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्वामित्व परिवर्तनले आ– आफ्नो नयाँ रणनीतिक योजनाका साथ कम्पनीहरूलाई सशक्त रुपमा अघि बढाउन मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख छ । साथै सरोकारवालाहरूको लागि दीर्घकालीन रुपमा हित हुने उल्लेख गरिएको छ । विभाजित दुवै समूहले गोदरेज ब्रान्डको प्रयोगलाई यथावत राख्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।