विश्वासको मत केही पछाडि सार्न चाहन्थें : प्रधानमन्त्री

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर बाढी, पहिरो, चट्याङबाट जनधनको क्षति भइरहेकोबेला सरकार परिवर्तन र विश्वासको मत लिने नलिने भन्नेतिर केन्द्रित हुनुपर्ने बिडम्बनाको स्थितिमा पुग्नुपरेको बताएका छन् ।
सदनमा विश्वासको मत माग्दै प्रचण्डले एकढिक्का भएर त्यसको प्रतिवाद गर्नुपर्ने, सतर्कता अपनाउनुपर्ने, तयारी गर्नुपर्ने, खोजउद्धार, राहतका निम्ति लाग्नुपर्नेबेला भएको बताउँदै भने, ‘हामी अहिले फेरि सरकार परिवर्तन र विश्वासको मत लिने नलिने भन्नेतिर केन्द्रित हुनुपर्ने बडो बिडम्बनाको स्थितिमा हामी छौं ।’
प्रचण्डले आफू आज विश्वासको मत लिन नचाहेको र केही घन्टा भए पनि पछाडि सार्न चाहेको बताए । ‘मैले एकमनले त सोचेको थिएँ, आज बिहान । २ वटा बगेको, कास्कीमा ११ जना मान्छेको मृत्यु भएको । अन्य ठाउँमा पनि यो भइराखेकोबेलामा आज नै विश्वासको मत माग्न उचित होला कि हुन्न होला ? भनेर सोचें’, उनले भने ।
प्रचण्डले अगाडि भने, तर, मलाई लाग्छ–जुन २ ठूला दलहरु सहमत भएर उहाँहरु छिटोभन्दा छिटो सरकार बनाउनेतिर उद्दत भएको र हिजो मैले मुख्य सचेतकमार्फत २ घन्टा समय सारौं भन्दा पनि नहुने देखेपछि सायद फेरि मैले केही दिन सारौं भन्यो भने यसको अर्को अर्थ लाग्ला भनेर मैले सभामुखजीसँग यो कुरा गरिनँ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।