‘सलार २’ को छायांकन यसै महिनादेखि, अर्को वर्षको डिसेम्बरमा रिलिज लक्ष्य

काठमाडौं । तपाईं दक्षिण भारतीय फिल्म ‘सलार’को प्रशंसक हुनुहुन्छ भने यो खबर महत्वपूर्ण हुनसक्छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको छायांकन यसै मे महिनाको अन्त्यदेखि सुरु हुनेछ ।
अर्को वर्ष रिलिज हुने चर्चा पनि छ । फिल्ममा प्रभास र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा देखिनेछन् । सुपरस्टार प्रभास र निर्देशक प्रशान्त नीलको जोडीले फिल्म ‘सलार’बाट ठूलो चर्चा कमाएको थियो ।
फिल्मको पहिलो भागले विश्वभर ६०० करोड भारुभन्दा बढी कमाएको थियो । फिल्ममा सुकुमारनको अभिनयलाई दर्शकले रुचाएका छन् । पहिलो भागको दमदार प्रदर्शनपछि फ्यान दोस्रो भागको लागि उत्सुक छन् ।
यस्तोमा ‘सलार : पार्ट २’ को छायांकन मेको अन्त्यबाट सुरु हुनेछ । दोस्रो भागको छायांकन हैदराबादको रामोजी फिल्म सिटीमा १० दिनको तालिकासहित सुरु हुँदैछ ।
पहिलो भागको प्रतिक्रियाका आधारमा सिक्वेलको स्क्रिप्ट तयार गरिएको हो । निर्माता यसको मेकिङसँग सन्तुष्ट रहेको बुझिएको छ । दोस्रो श्रृंखलामा प्रभास र पृथ्वीराजबीचको प्रतिस्पर्धामा कथा बुनिएको छ । अघिल्लो भागमा यी दुई घनिष्ट मित्र थिए ।
होम्बाले फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको मुख्य भाग यसैवर्ष छायांकन हुने समाचारमा जनाइएको छ । बाँकी भागलाई सन् २०२५ मा छायांकन गरिनेछ ।
अहिले यो फिल्ममा नयाँ कलाकारलाई कास्ट गर्ने तयारीमा निर्माता छन् । निर्माताले यो फिल्मलाई सन् २०२५ को डिसेम्बरमा रिलिज गर्ने लक्ष्य राखेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।