Main

संसदमा राप्रपाले आफ्ना मागहरु यथावत राख्ने

२३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार परिवर्तन भएता पनि संसदमा उठाउँदै आएका मागहरु यथावत राख्ने भएको छ ।

मिटरब्याज पीडितहरु, लघुवित्त पीडितहरुको माग सम्बोधनका लागि राप्रपाले सरकारलाई दबाब दिंदै आएको छ ।

यसअघि यही फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाले यी विषयहरुलाई सरकारले सम्बोधन नगरे संसद अवरोध गर्ने बताएको थियो ।

प्रतनिधि सभाको अर्को बैठक भोलि बिहीबार बस्दैछ । उक्त बैठकमा राप्रपाले यसअघि उठाएका विषयहरुका सरकारको धारणा के छ भनी उठाउने राप्रपाका उपाध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य ध्रुव प्रधानले बताए । ‘सत्ता गठबन्धन फेरिएसँगै सरकारको सोच्ने तरिका नै फेरिएको छ । तथापि, हामी हाम्रो कार्यक्रम निरन्तर जारी राख्छौं,’ प्रधानले अनलाइनखबरसँग भने ।

राप्रपा सरकारमा नजाने र जनताको आवाज उठाउने पक्षमा रहेको भन्दै उनले जनताको पक्षमा उठाएका मागहरु सरकारमा जो भए पनि सम्बोधन हुनुपर्ने पक्षमा आफूहरु रहेको बताए ।

गैरवामपन्थी सरकार बन्ने अवस्था आयो र राप्रपाले सरकारलाई समर्थन गर्ने परिस्थिति बन्यो भने पनि सरकारमा भने राप्रपा सहभागी नहुने राप्रपाका नेता प्रधानको भनाइ छ ।

‘सत्ता गठबन्धनका लागि वैकल्पिक पर्यासहरु भइराखेका छन् । गैरवामपन्थी सरकार बन्न पनि सक्छ । यस्तो अवस्थामा राजनीतिक स्थायित्वका लागि राप्रपाले सरकारलाई समर्थन गर्नुपर्ने हुन सक्छ,’ प्रधानले भने, ‘यो परिस्थितिमा पनि राप्रपा सरकारमा सहभागी हुँदैन र जनताको आवाज सडक र सदनबाट उठाइरहन्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button