Main

शहरमा बस्‍नेलाई नि:शुल्क जमरा वितरण (तस्वीरहरू)

२६ असोज, काठमाडौं । काठमाडौंको सिनामंगल-९ भत्केपुलमा रहेको लक्ष्मीनारायण मन्दिर समितिले शहरमा बस्‍नेहरूलाई नि:शुल्क जमरा वितरण गरेको छ ।

लक्ष्मी नारायण मन्दिर समितिका संयोजक दिनेशविक्रम शाहले बाहिरबाट काठमाडौं आई बसेकाहरूलाई नि:शुल्क जमरा वितरण गरेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले लक्ष्मीनारायण मन्दिरमा घटस्थापनादेखि नै देवी दुर्गाको पूजाअर्चना गरेर जमरा राखेका थियौँ । खासगरी बाहिरबाट काठमाडौं शहरमा आई बसेकाहरूलाई हामीले जमरा नि:शुल्क जमरा उपलब्ध गराएका हौं।’

यस्तै मन्दिरका पुजारी उज्ज्वल शर्माले मन्दिरमा लक्ष्मीनारायणको मूर्ति रहेपनि परिसरमा सबै देवी देवताको मूर्ति स्थापना गरिएको बताए । दशैंमा नौ कन्या, कालरात्रि र देवी दुर्गाको पूजा समेत गरिएको उनको भनाइ छ ।

‘मन्दिरमा घटस्थापनादेखि देवीहरूको पूजा अर्चना, होम गरेका छौं। नौ कन्याको पूजा, कालरात्रिको पूजा, लाख बत्ती बालेका छौं,’ उनले भने, ‘अन्तिम दिन दुर्गादेवीको पूजा अर्चना गरी देवी विसर्जन गरी जमरालाई प्रसादको रुपमा वितरण गरेका छौं।’

आज मान्यजनबाट टीका र जमरा लगाएर विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।

हेर्नुहोस् तस्वीरहरू  :

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button