Main

शहीद स्मृति गोल्डकपमा बागमतीसँग पारो पराजित

१६ माघ हेटौंडा । हेटौंडामा मंगलबार सुरु छैटौं संस्करणको शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकपमा सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै  क्वार्टरफाइनलमा पुगेको छ । हेटौंडा उपमहानगरपालिका–६, स्थित गौरीटार रंगशालामा भएको खेलको चैथो मिनेटमा राज भुसालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए । भुसालले डिबक्सभित्र वान भर्सेज वानको अवस्थालाई सदुपयोग गर्दै बललाई जाली चुमाए ।

खेलको २८ औं मिनेटमा श्रीजन गौतमको गोलबाट बागमतीले अग्रता दोब्बर बनायो । भुटानका गोलरक्षक सिरब गेलिसन पोष्ट छोडेर डिबक्स लाइनमा आइपुगेको मौकामा गौतमको प्रहार गोल भएको थियो ।

६० औं मिनेटमा भुसालले व्यक्तिगत दोस्रो गोल गर्दै बागमतीलाई जित नजिक पुर्‍याए ।

पारो क्लबका लागि सिरब दर्जीले ८१ औं मिनेटमा सान्त्वना गोल फर्काए । उद्घाटन खेलको म्यान अफ दि म्याच बागमतीका भुसाल भए । उनले १० हजार पुरस्कार पाए । बागमतीले सेमिफाइनल प्रवेशका लागि आयोजक मकवानपुरसँग खेल्नेछ । गोल्डकपमा बुधवार न्यूरोड टिम काठमाडौं र हिमालयन शेर्पा भिड्ने छ ।

बिजेतालाई नगद १५ लाख, उपविजेतालाई १० लाख र सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल पुरस्कार रहेको गोल्डकपमा आयोजकसहित आठवटा ए डिभिजन क्लब, एउटा विदेशी, दुईवटा मोफसलका क्लब गरी १२ टिमले सहभागिता जनाएका छन् ।

ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लब छन् । भुटानको पारो एफसीसहित मोफसलका सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button