शिक्षामन्त्रीको पहिलो निर्णय : विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्राज्ञिक व्यक्ति

२४ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेकी छन् ।
विश्वविद्यालयमा प्राज्ञिक तथा विज्ञ व्यक्तित्व रहने गरी ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने उनको निर्णय छ ।
बुधबार पदबहाली गरेपछि मन्त्री श्रेष्ठले हालको विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा सुधार गरेर कुलपति र सहकुलपतिमा प्राज्ञिक व्यक्ति नै रहने व्यवस्था गर्ने निर्णय गरेकी हुन् ।
अहिले संघीय कानुन अन्र्तगत स्थापना तथा सञ्चालनमा रहेका १३ वटा विश्वविद्यालय मध्ये त्रिभुवन विश्वविद्यालय लगायत ११ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ ।
मन्त्री श्रेष्ठले यी विश्वविद्यालयहरुको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्व रहने गरी व्यवस्था गर्न कानुनी सुधार गर्नुपर्ने भएकोले त्यसको लागि आवश्यक प्रारम्भिक कारवाही अगाडि बढाउने निर्णय गरेकी छन् ।
शिक्षामन्त्री श्रेष्ठले विश्वविद्यालय नेपालको शिक्षालाई उत्पादनमूलक, रोजगारमूलक, तथा विश्वस्तरीय बनाउनुपर्ने बताइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।