दूध किन्ने पैसा नहुँदा जन्मिएको ‘चियावाला’

‘केही मिठो बात गर, वाईफाई त घरमा छँदैछ !’
यी चोटिला पंक्तिले आगन्तुकको त्यसरी नै ‘मूड चेन्ज’ गरिदिन्छ, जसरी बाफ उड्दै गरेको तात्तातो चियाले । आँत भर्ने गरी सुरुप्प-सुरुप्प चिया पिएपछि कोकाकोलाको विज्ञापनमा भने झैं भन्न मन लाग्छ, ‘चिया भनेकै चियावालाको ।’
चिया केवल पेय मात्र होइन । यो मान्छेको सम्बन्धलाई नवीकरण गर्ने स्वादिलो रसायन पनि हो । त्यसैले त कुनै नयाँ साथी भेट्नासाथ हामी भनिरहेका हुन्छौं, ‘अहो, आज कहाँबाट भेट भो, लाै चिया पिऔं ।’
बिग्रिएको कुरा सपार्न होस् वा कुनै नयाँ योजनाको बीजारोपण गर्न, हामी चियाको साथ खोज्छौं, यसो भन्दै, ‘यसो चिया खाएरै गफ गरौं न त !’
चियाले भोक मेट्दैन, पोषण दिंदैन । तर, सम्बन्धहरुलाई न्यानो बनाइराख्छ । सम्बन्धलाई जोड्ने र मोड्ने सेतु हो चिया ।
यो बखान चियाको त हुँदै हो त्योभन्दा बढी चियावालाको । चियावाला अर्थात् गणेशदेव पाण्डे । जगजाहेर छ, सिनेमाका यायावर निर्देशक पाण्डे चियाका खाँट्टी पारखी पनि हुन् । मन्जरी, गाँजाबाजा, जुलेबी जस्ता फिल्म बनाइसकेका उनी कुन मोडहरुमा ठोक्किंदै चिया उमाल्न आइपुगे ?
चिया दोकान : समाज चियाउने आँखीझ्याल
उनका बाबु घनश्याम पाण्डे बुटवलमा एउटा चल्तीको चिया दोकान चलाउँथे । मध्यबजारको एउटा झुपडीमा उनको चिया दोकान थियो । बुवा त्यही दोकानमा चिया उमाल्थे, स-साना काँचका गिलासमा पस्कन्थे र ग्राहकको हात-हातमा टक्र्याउँथे ।
चिया दोकान आफैंमा यस्तो थलो पनि हो, जहाँ अनेकतिर ठोक्किंदै मान्छेहरु भेला हुन्छन् । अनेक गन्थनमन्थन गर्छन् । देश हाँक्नेदेखि गाडी हाँक्नेसम्मको कुरा त्यहीं हुन्छ ।
‘चियापसलमा अनेक मान्छे, अनेक कुरा थाहा पाइन्थ्यो’ उनी नोस्टाल्जिक भए, ‘मान्छेका घरायसी झै–झगडादेखि अनेक किस्साहरु थाहा पाइन्थ्यो ।’
चिया दोकान फगत दोकान मात्र थिएन, समाजलाई चियाउने आँखीझ्याल पनि थियो । मान्छेहरु के सोच्छन्, के गर्छन्, कसको जीवन कसरी चलिरहेको छ ? यावत् कुरा चियागफमा छर्लङ्ग हुन्थ्यो ।
मान्छेहरुका कुरा सुन्न बाहेक उनलाई चियामा अतिरिक्त लगाव थिएन । न त लगाव पढाइलेखाइमा नै थियो । बरु शहरका चोकहरुमा बरालिन्थे, यत्तिकै ।
चियापसल नजिक सिनेमा घर थियो । नयाँ फिल्म आउनासाथ उनले त्यहाँ एउटा ‘जागिर’ पाउँथे पोस्टर टाँस्ने । यसरी शहरका भित्ताहरुमा पोस्टर टाँसिदिए बापत सित्तैंमा हलमा प्रवेश पाइन्थ्यो ।
त्यसो त उपन्यास र कमिक्समा पनि उनको खास रुचि थियो । आफ्नो दोकानको मिठाई बोकेर उनी पुस्तक पसलेकहाँ पुग्थे । पसलेबाट सित्तैमा उपन्यास र कमिक्स पढ्न पाउँथे ।
समाज, सिनेमा र साहित्यसँग यसरी उनी नजानिदो ढंगले एकाकार हुँदै गए । उनी सोच्न थाले, ‘चिया दोकानमा आउने मान्छेहरु, उनीहरुको जीवन भोगाइहरु कुनै न कुनै रूपमा व्यक्त गर्न पाए कस्तो हुन्थ्यो ?’
तर, कसरी व्यक्त गर्ने ? कुन माध्यमबाट ? मेलोमेसो पाएकै थिएनन् । मन उकुसमुकुस थियो । छटपटी थियो । उनका मामा अर्थात् अभिनेता टीका पहारीले भान्जाको मनोदशा बुझेछन् । उनले सुझाए, ‘मुम्बई गएर फिल्मबारे अध्ययन गर ।’
मामाकै सल्लाहमा उनी मुम्बई हान्निए, २००५ मा । त्यहाँ उनले फिल्मी व्याकरण बुझ्ने यत्न गरे । ‘जुनियर असिस्टेन्ट डाइरेक्टरको रूपमा काम गर्न पाएँ’ उनले भने, ‘आर्ट डिजाइनदेखि फिल्मी सेट भित्र हुने सबै साना कामहरु गरें । फिल्मदेखि सोनी र स्टार प्लसमा प्रसारण हुने सिरियलहरुमा पनि गरें ।’
सिनेमाको रंगीन दुनियाँमा हेलमेल हुने यो एउटा अमूल्य मौका त थियो तर सन्तुष्टिको स्रोत थिएन । यो मोडसम्म आइपुग्दा पनि उनको मन स्थिर भएन । किनभने उनी त आफैंभित्र उकुसमुकुस कथाको पोकापन्तरो खोल्न चाहन्थे, आफ्नै दृश्यभाषामा ।
‘तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर’ भने जस्तै उनले आफ्नो गन्तव्य बदल्न चाहे । र, मुम्बईको काम थाती राख्दै नेपाल फर्किए ।
सिनेमाको चक्करले डिप्रेसन
सन् २०१० । उनीसँग फिल्मको कथा थियो । पटकथा थियो । जोश थियो । अनि सपना पनि । त्यसैको आडमा उनी निर्माताको खोजीमा हिंड्न थाले । तर, पत्याउने कसले ?
फिल्म बनाउन तम्सिएको एउटा अल्लारे केटो । कस्तो बनाउलान् ? कसरी बनाउलान् ? संशय हुने नै भयो । तर, उनी हारेनन् । दृढताका साथ आफ्नो प्रयास जारी राखे । अन्ततः उनका लागि त्यो दिन पनि आयो, जहाँ उनले ‘निर्देशक’को कित्तामा आफूलाई उभ्याउन सक्थे ।
सन् २०११ मा उनले फिल्म ‘मालतीको भट्टी’ बाट निर्देशनको पहिलो डेब्यु गरे । मौलिक कथा भनेकाले उनलाई लागेको थियो, दर्शकले मन पराइदेलान् । तर फिल्मले सोचे जस्तो प्रतिक्रिया पाएन । व्यावसायिक भाषामा भन्ने हो भने फिल्म ‘फ्लप’ भइदियो ।
दोस्रो प्रयत्न स्वरुप उनले मञ्जरी ल्याए । सन् २०१८ मा गाँजाबाजा ल्याए । तर ‘गाँजा’मा आपत्ति जनाउँदै चलचित्र विकास बोर्डले फिल्म रोकिदियो । लाखौं लगानी लगाएर बनाएको फिल्म दर्शकसामु पुग्न सकेन । मिहिनेतले बनाएको फिल्म राज्य रोकिदिएपछि उनी रन्थनिएर सर्वाेच्चमा मुद्दा हाले । झण्डै डेढ वर्ष अदालतमै फिल्म रोकियो ।
‘धेरै दुःख र लगानीमा बनाएको फिल्मलाई सेन्सरसिप लगाइयो’ उनले भने, ‘त्यसपछि म ब्रोक जस्तै भएँ ।’ सेन्सरसिप र त्यसले उत्पन्न विवादले आक्रोशित र निराश बने । आर्थिक संकट र ऋणले घेरिएपछि उनी त्यही दौरान डिप्रेसनमै गए ।
चियाको तलतलले मोडिदियो बाटो
सिनेमामा गरेको प्रयास निरर्थक जस्तै थियो । सिनेमा बनाउँछु भन्ने सुरुवाती जोशमा ठेस पुगेको थियो । र, मन यसैयसै बेचैन थियो ।
के गरौं, कसो गरौंको एउटा विषाद मनोदशामा पुगेको बखत उनलाई झट्ट चियाको तलतल लाग्यो । उनले श्रीमतीलाई भने, ‘एक कप चिया ल्याऊ त ।’
चिया पकाउनलाई घरमा दूध थिएन । एक पोका दूध किन्नलाई पैसा थिएन । श्रीमतीले पसलेसँग उधारोमा दूध मागिन् । तर, पसलेले विश्वास गरेनन् । रित्तोहात फर्काइदिए ।
गणेशदेवले आफ्नो आत्मसम्मानमा ठेस पुगेको महसुस गरे । जब ठेस लाग्छ, पाइला मोडिन्छ । उनले पनि आफूलाई मोडे अर्कै दिशामा । र, मनमनै योजना बनाए, ‘अब जे जसरी हुन्छ एउटा चिया दोकान खोल्छु ।’
जब मान्छे एक्लो वा संकटमा पर्छ उसले आफन्त र परिवार सम्झन्छ । आफू संकटले घेरिएको बेला उनले पनि बुबाले गरेको चिया पसल सम्झिए । ‘बुबाले मलाई पेशा दिनुभएको थियो, चिया बनाउने सीप सिकाउनुभएको थियो’ उनले भने, ‘मैले अरु केही गर्न सकिनँ भने पनि यो त गर्न सक्छु नि भनेर बाबुकै बाटो पछ्याएँ ।’
संकटमा फुरेको जुक्ति : चियावाला
चियापसल खोल्ने पैसा थिएन । तर उनीसँग आँट थियो । उनलाई के थाहा भयो भने यदि कुनै कुरा मनैदेखि चाहने हो भने सबै कुरा मिल्दै जान्छ । उनले फिल्म ‘ओम शान्ति ओम’को यस्तै एउटा डाइलग सम्झिए, ‘अगर किसी चिजको तुम दिल सें चाहो तो पुरी कायनात उसे तुमसे मिलाने की कोसिस में लग जाति है ।’ हुन पनि भयो यस्तै । उनले आँट के गरेका थिए, सबै कुरा मिल्दै गयो ।
त्यही वर्ष उनले शंखमूलस्थित बागमती खोला किनारमा ३ आना जग्गा लिजमा लिएर चियापसल खोले । त्यसको नाम जुराए, ‘चियावाला’ ।
तर त्यसमा कुनै महँगा फ्यान्सी समान, सोफा थपेनन् । घरकै भाँडाकुडाबाट चिया बनाउने सामान जुटाउन थाले । फालिएका काठको बेञ्च र टेबल बनाए । फालिएका रुखको ठुटालाई बस्ने मुढा बनाए । गुन्द्री र चकटी राखे । खटिया राखे । कवाडमा फालिएका समानहरुको रि-युज गरे । त्यसलाई बस्न मिल्ने ठाउँ र छानो बनाए । थोत्रो टिभी टेबुल राखे । यस्तै समानहरु जोडजाड गरेर चिया पसलमा बस्न मिल्ने ठाउँ बनाए ।
त्यसमाथि चिया त्यस्तै मिठो । बाँकी थियो, त्यसलाई अलि आर्टिस्टिक रुप दिन । चिया पसललाई बुटिक र अर्थिनेचर रुपमा प्रस्तुत गरे । डुंगाहरु ल्याएर बुट्टा भरे, काठमा मुढाहरुमा कलात्मक रंग लगाए । ‘भारतमा काम गर्दागर्दा फिल्म सेट सजाउन सिकेको चिया पसल सजाउन काम लाग्यो,’ उनले भने ।
उनी रियलिस्टिक बनाउन थाहन्थे । अर्थात बनावटी हैन, जस्तो जीवन, त्यस्तै सिनेमा । चिया पसलमा पनि उनले यस्तै कुरा लागु गरे । महंगा कृत्रिम चिजहरु राखेनन् । अरु त अरु, इन्टरनेट, वाइफाइ ऐनाहरु समेत राखेनन् । ‘अहिले जताकतै बनावटीमात्र छन्, म यहाँ त्यो चिजहरु राख्न चाहँदैन थिएँ,’ उनले सुनाए ।
त्यसमा थपिदिए, ‘सेल्फ अर्डर, सेल्फ सर्भ’ । चिया पनि आफैं अर्डर गर्ने र आफैं लिन जाने । चिया पसलमा आएर मोबाइलमा घोत्लिने भन्दा पनि गफ गर्ने, खुसी साट्ने, रमाउने ठाउँमा रुपमा विकास गरे । भित्तामा लेखिएको ‘केही मिठो बात गर, वाइफाइ त घरमा पनि छँदैछ’ भन्ने शब्द त भाइरल समेत भयो ।
तर काठमाडौंमा करोडौंको लगानीमा खोलिएका चिया पसल र क्याफे थिए । उनीहरुका अघि सानो लगानीमा सुरु भएको चिया पसल, त्यो बागमती खोला छेउँमा खोलिएका चिया चल्छ भन्नेमा उनका सहकर्मी र आफन्तहरु विश्वस्त थिएनन् । उनले सुरु गर्दा धेरैले पत्याएनन् पनि ।
तर उनी बाबुको चियाप्रति विश्वस्त थिए । उनलाई लाग्थ्यो, बाबुले बनाउने चियामा जादू थियो ।
हुन पनि चियाका पारखीहरुले त्यही साधारण कुरालाई रुचाइदिए । अझ बढी उनको चियाको स्वाद रुचाए । जसै खुल्यो, ‘चियावाला’ एकपछि अर्काे गर्दै आउने चिया खान आउनेहरुको लाम नै लाग्न थाल्यो । ‘महँगा रेष्टुरेन्टमा चिया कफी पिउने बानी परेकाहरुलाई अन्तिममा हाम्रै चियाले तान्यो’ उनले भने, ‘एक प्रकारले व्यवसाय बुम नै भयो ।’
‘चियावाला’ एक ब्राण्ड
पसल खुलेको पाँच वर्षमा चियावाला आफैं एउटा ब्राण्ड भइसकेको छ । चिया पारखीहरुको जक्सन बनिरहेको छ । कलाकार, नेता, पत्रकारहरु चिया खान आइपुग्छन् । ‘कलाकारकर्मी र मिडियाकर्मीहरुको त एक प्रकारको जक्सन नै भइरहेको छ’ उनले भने, ‘पर्दामा देखिने कलाकारहरु समेत चिया पिउन आउनुहुन्छ ।’
चियावालाको लोकप्रियता बढ्दै गपछि उनले काठमाडौंका थापाथली, चाबहिल, भक्तपुर र बुटवल गरी चार ठाउँमा विस्तार गरे । ‘अरु ठाउँहरुबाट पनि चियावाला खोल्नुपर्ने भन्दै आउने माग धेरै छ’ उनले भन्छन्, ‘लगानी गर्छु भन्ने र फ्रेन्चायसी माग्नेहरु पनि उतिकै हुनुहुन्छ ।’
अहिले उनले अन्य व्यावपार व्यवसाय गरिरहेका आफ्ना भाइ बहिनीहरुलाई पनि यसमा संलग्न गराएका छन् । उनीहरु आफ्नो पेशा व्यवसाय छोडेर चियावालालाई सम्हालेका छन् ।
कालान्तरमा उनी ‘चियावाला’ चियाको स्वाद देशभर फैलाउन चाहन्छन् । ‘मुलुकभर सय ठाउँमा खोल्ने योजना छ,’ उनी भन्छन् ।
बुवाकै नाममा चिया
बितेका पाँच वर्षमा ‘चियावाला’ लोकपि्रयमात्र हैन, आर्थिक रुपमा पनि बलियो भइरहेको छ । उनका अनुसार चिया बेचेरै एउटै आउटलेटबाट दैनिक ३० हजारमाथि कारोबार हुन्छ । उपत्यका भित्रका चारवटै आउटलेटबाट दैनिक दुई सय लिटर दुधमात्र खपत हुन्छ । ‘आजको दिनमा आर्थिक रुपमा पनि हामी उतिकै समक्ष भइरहेका छौं,’ उनले भने, ‘एउटै आउटलेटबाट चारवटा आउटलेटसम्म विस्तार गर्न सक्ने अवस्थामा पुगेका छौं । यद्यपि हामी अझै इन्भेसमेन्टको चरणमै छौं भन्दा हुन्छ ।’
चिायावालामा विषेशता भनेकै यहाँ पाइने चिया हो । करिब १०० बढी प्रकारका चियाहरु यहाँ पाइन्छ । ‘हामी कालो, दूध, हनी, गि्रन टी गरी एक सय बढी प्रकारका चिया बनाउँछौं’ उनले भने, ‘५० रुपैयाँबाट सुरु भएर पाँच सय रुपैयाँसम्मको चिया यहाँ पाइन्छ ।’
रोचक त के छ भने उनले आफ्नै बाबुको नामबाट चियाको नाम राखेका छन्, ‘घनश्याम’ चिया भनेर । चिनी कम र गाढा रंग भएको चियालाई उनले घनश्याम चिया नाम दिएका छन् ।
‘बुबाले बनाउने चियालाई अहिले उहाँकै नाम दिएका छुँ’ उनले भने, ‘यहाँ आउने हरेक कोहीको मनमा यो नाम झुण्डीरहेको हुन्छ ।’ गणेशलाई लाग्छ, मैले बुवालाई यसैगरी सम्मान दिएको छु ।
निर्देशक होइन, ‘चियावाला’
तीन फिल्म निर्देशन गरेका उनको नाम अहिले अर्काे थपिएको छ, चायवाला । र, फेरिएको उनको दैनिक दिनचर्या पनि । उनी दिनभर चिया बनाउँदै, कप उठाउँदै, टेबुल पुछ्दै र सरसफाइ गर्दै गरेका भेटिन्छन् । ‘तपाईंहरुलाई अचम्म लाग्ला यहाँ म चुरोटका ठुटा उठाइरहेको हुन्छु ।’
हामीले उनलाई प्रश्न सोध्यौं, ‘यस्तो काम गर्दा कहिलेकाहिँ हिनतावोध त हुँदैन नि ?’
उनले हाँसेर जवाफ दिए, ‘कहाँ हुनु, उल्टै म यहाँ रमाइरहेको हुन्छ । फेरि काम गरेर कोही सानो हुँदैन नी ?’
अन्तमा, हामीले उनलाई चियावालाको सफताको राज सोध्यौं । उनी एकछि मौन भए र भने, ‘बुबाले मलाई कर्म गर्न र इमान्दार हुन सिकाउनु भयो । मैले त्यो छोडिनँ । कारण पनि यही हो की ?’
– यस समाचारको श्रोत : Online Khabar हो ।