श्रम संसार पोर्टलले सही सुचना सम्प्रेषण गर्छ : श्रम मन्त्री भण्डारी
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरु बञ्चित हुनु परेको बताएका छन।
मंगलवार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सन्चालन सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री सही सुचनाको अभावमा युवाहरु रोजगारीको अवसरबाट बञ्चित हुनु परेको बताएका हुन।
मन्त्री भण्डारीले आफु मन्त्री भएर मन्त्रालयमा आएपछि दुई युवाहरु भेटेर रोजगारी माग्न आउँदा देशभित्र कसरी एकिकृत रोजगारी सूचना दिने सन्दर्भमा आएको अवधारणा अनुसार श्रमसन्सार पोर्टलको अविष्कार भएको बताए।
उनले भने, यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तीको रुपमा स्थापित हुनेछ, यसले युवाहरुलाई देश भित्र पनि मिहनेत र आत्मविश्वास भर्नेछ।
मन्त्री भण्डारीले देशभित्र सोसफोर्स नभए रोजगारी वा कुनै पनि अवसर पाउन नसकिने दुःखद भाष्य निर्माण भएको चिन्ता व्यक्त गर्दै क्षमता र योग्यताको आधारमा रोजगारीको अवसर सृजना गर्न यस पोर्टल मार्फत युवाहरुमा विश्वास जगाउने विश्वास व्यक्त गरे।
वैदेशिक रोजगारका लागि उचित सूचना अभावका कारण विचौलियाहरुले गाउँघरमा ठग्ने गरेको जिकिर गर्दै यसको सदुपयोग गरी सात सय ५३ वटा स्थानीय तहमा यसले सही सुचना संप्रेषण गर्ने उनले बताए।
उनले भने, `अब सबै स्थानीय तहमा एकिकृत रुपमा वैदेशिक तथा स्वदेशमा भएका रोजगारका अवसरहरुको सही सूचना संप्रेषण हुनेछ, यसले विचौलियाहरुको धन्धा बन्द भई आफनै गाउँघरमा ठगिन रोकिने छ।´
मन्त्री भण्डारीले सबैको सहयोग, साथ र सहकार्यले सूचना प्रविधिको सही सदुपयोग गरी एकिकृत एकद्धार सूच्ना प्रणाली स्थापित गर्नु नै मुख्य उदेश्य रहेको बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारको सहयोगमा निर्माण भएको श्रमसन्सार रोजगारी पोर्टल यही मे १, विश्व मजदुर दिवस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट लन्च गरिनेछ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।