संघीयता र पहिचानमा प्रतिवद्धता जनाएपछि रास्वपाबाट उम्मेदवार बनेँ : मिलन लिम्बु

१५ चैत, काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले संघीयता र पहिचानको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिवद्धता जनाएपछि आफूले उक्त पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेको बताएका छन् ।
रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक ६ जनामध्ये लिम्बुलाई बिहीबार आधिकारिक उम्मेदवार घोषणा गरेको छ । रास्वपाको आधिकारिक उम्मेदवार बनेपछि अनलाइनखबरसँग कुरा गर्दै उनले संघीयता र पहिचानको विषयलाई लिएर रास्वपामाथि प्रश्न उठेको विषय आफूले उठाएको बताए ।
‘संघीयता र पहिचानको विचार पार्टीमा राखें । पहिचान र संघीयता विरोधी होइन भनी नेतृत्वले भन्नुभएको छ’, लिम्बुले भने, ‘प्रदेश सभाको संख्या र अधिकार नदिएकामा हाम्रोे विमति हो भन्नुभएको छ । त्यस आधारमा हाम्रो सहकार्य भएको हो ।’
रास्वपा नेतृत्वले आफूसँगको कुराकानीमा पहिचानको सन्दर्भमा अस्तित्व स्वीकार्ने विषयमा आफूहरुको विरोध नभएको भनी विश्वास दिलाएको पनि लिम्बुले बताए ।
१७ चैतमा उम्मेदवार चयन गर्ने कार्यतालिका बनाएको रास्वपाले त्यसको दुई दिन अघि नै लिम्बुलाई उम्मेदवार बनाउने निर्णय लिएको छ । गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपाने उम्मेदवार हुन आकांक्षा राखी नाम दर्ता गराएका थिए । लिम्बुलाई सबै आकांक्षीबाट सर्वसम्मत उम्मेदवार चयन गरिएको रास्वपाले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।