संसदीय बोर्डको बैठकमा देउवाले गरे डम्बर खड्काको नाम प्रस्ताव

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार बुधबार पनि टुंगो लगाउन सकेन ।
बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखेका छन् । तर महामन्त्री गगन थापासहितका नेताहरुले डम्बरलाई नभई भेषराज आचार्यलाई दिनुपर्ने भनेपछि बैठक निर्णय नगरी सकिएको हो । अर्को बैठक बिहीबार बिहान ९ बजे बस्नेछ ।
बुधबारको बैठकमा सभापति देउवाले ४ मंसिर २०७९ मा भएको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मतान्तरले मात्र पराजित भएकाले खड्कालाई नै टिकट दिएर न्याय गर्नुुपर्ने बताएका थिए । ‘उसले उठ्दिन भनेको भए एउटा कुरा हुन्थ्यो, उठ्छु भनेपछि अर्को व्यक्तिलाई टिकट दिनु न्यायसँगत हुन्न भन्ने सभापतिज्यूको कुरा रह्यो’ बैठकमा सहभागी एक नेताले भने ।
महामन्त्री गगन थापाले भने इलाम–२ को पार्टी संरचनामा भेषराज लोकप्रिय भएकाले चुनाव जित्न उनैलाई टिकट दिनुपर्ने अडान राखेका छन् । उहाँले टिकट पाउनुभएको भए जित्नुहुन्थ्यो कि, त्यसैले पुरानो निर्वाचनको कुरा गरेर हुँदैन, पार्टी संरचनामा जो लोकप्रिय छ उसैलाई दिनुपर्छ’ महामन्त्री थापाको भनाइ उधृत गर्दै ती नेताले भने ।
दुबै पक्ष आआफ्नो अडानबाट टसमस नभएपछि बैठक बिहीबार विहान ९ बजेका लागि सारिएको हो । स्रोतका अनुसार बिहीबारको बैठकमा उम्मेदवारका आकांक्षीहरुलाई पनि बोलाइएको छ । इलाम २ मा जिल्ला र प्रदेश समितिले ७ जनाको नाम सिफारिस गरे पनि टिकटका लागि मुख्य प्रतिस्पर्धा डम्बर खड्का र भेषराज आचार्यबीच छ ।
बझाङको प्रदेशसभा १ निर्वाचन क्षेत्रमा देउवाले अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् भने गगन पक्षले जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।