रिलिज पूर्वसन्ध्यामा ‘उपहार’को प्रिमियर, अमेरिकाबाटै रेखाको भिडियो सन्देश

काठमाडौं । रिलिजको पूर्वसन्ध्यामा रेखा थापा अभिनित फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’लाई प्रिमियर गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ ।
कलाकार पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की र तेज गिरी लगायत प्रिमियरमा सहभागि रहे । अमेरिकामा रहेकी रेखाले भिडियो सन्देशमार्फत फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् ।
‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । फिल्म हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, थापाले भिडियोमा भनिन्, ‘यो फिल्ममा नारीको संघर्षसँगै सक्षमता पनि देखाईएको छ ।’
प्रिमियरमा केकी अधिकारी, विजय लामा, शोभित बस्नेत, सुदर्शन थापा, उषा उप्रेती, कृषा चौलागाई, दिवाकर भट्टराई पनि सहभागि रहे । उनीहरुले फिल्म मर्मस्पर्शी रहेको बताए ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिले निर्माण गरेको यो फिल्ममा रेखाले चियावालीको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।