Main

बालेनले सडकको पार्किङ हटाए, प्रदर्शनमा उत्रिए व्यापारी

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीले पसल बन्द गरेर २ घण्टा सडकमा प्रदर्शन गरे । निर्णय नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका उनीहरुले आफूहरुलाई विस्थापित गरेर खाडी, मलेसिया पठाउन महानगर उद्धत भएको आरोप पनि लगाए ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा सवारी साधन पार्किङ गर्न पाइने छैन ।

मंगलबार कार्यालय समय सुरु भएपछि नगर प्रहरीले न्यूरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ । त्यस्तै पार्किङ गरिएका केही सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

त्यस क्षेत्रमा काम विशेषले जानेहरुले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरमा सवारी साधन पार्किङ गर्नुपर्ने महानगरपालिकाले नियम बनाएको छ ।

व्यवसायीहरुले उक्त पार्किङस्थल अपायक हुने र यसले न्यूरोडको व्यापार व्यवसायी तहसनहस हुने भन्दै महानगरलाई यो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।तर महानगरपालिकाले भने पार्किङ निषेधलाई कार्यान्वयन गरेर ती क्षेत्रमा सरसफाइ गर्ने योजना बनाएको छ ।

गत वर्ष महानगरपालिकाले व्यवसायीहरुको विरोधका बाबजुद दरबारमार्गको सडक किनारमा पार्किङमा रोक लगाएको थियो । न्यूरोडमा मोबाइल पसल सञ्चालन गरिरहेका  सबिन बानियाँले पार्किङ निषेधको नियम गलत भएको बताए ।

‘कम्तीमा यो क्षेत्रका व्यवसायीहरुलाई हेर्नुपर्छ नि । हामी जस्तो बटुवा उपभोक्ता र ग्राहक तान्ने (रनिङ कस्टमर टार्गेट गर्ने) व्यवसायीलाई त मार परिहाल्छ नि’ उनले भने, ‘चलिरहेको व्यापार नै मासेर के को नो पार्किङ ?’

उनी अगाडि भन्छन्, ‘पहिले दिनको २० हजार व्यापार हुने ठाउँमा अब २ हजार पनि हुँदैन, महिनाको २ लाख पसल भाडा छ । यस्तो आर्थिक मन्दीमा फेरि अर्को झमेला झिक्न हुँदैनथ्यो ।’

२० वर्षदेखि न्यूरोडमा मोवाइल सोरुम चलाइरहेका महेन्द्र शाही पुरानो बसपार्कमा सवारी साधन पार्किङ गरेर ग्राहकहरु न्यूरोडमा सामान किन्न नआउने बताउँछन् । ‘अब त डामाडोल हुन्छ, बैंकको ऋण घरबेटीको भाडा कसरी तिर्ने ?’ शाहीले मेयर बालेन शाहप्रति आशा राखे, ‘यत्ति कुरा त मेयर साबले पनि बुभ्नुपर्ने हो ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सुरुवाती दिनमा बानी पार्न कठिनाइ हुने भए पनि विस्तारै बानी पर्दै जाने तर्क गरे । अनलाइनखबरसँग कुरा गर्दै उनले भने ‘नो पार्किङ महानगरपालिकाको शहर व्यवस्थित गर्ने निर्णय हो एक दुई दिनमै बानी पर्दैन गाह्रो भएजस्तो लाग्छ तर बानी परेपछि सबैलाई फाइदा हुन्छ ।’

मानन्धरले पुरानो बसपार्कको काठमाडौं टावरमा पार्किङ गर्दा शुल्क नलाग्ने र सुरक्षाको जिम्मेवारी महानगरले लिने बताए । पसल अगाडि गाडी, मोटरसाइकल रोकेर मात्रै व्यापार हुन्छ भन्ने मान्यता गलत भएको भन्दै उनले पार्किङ निषेधको नियमले न्यूरोडमा ग्राहक नघट्ने जिकिर गरे ।

न्यूरोड क्षेत्रमा रहेका विशाल बजार, ताम्राकार हाउस, रञ्जना कम्प्लेक्स जस्ता व्यवसायिक भवनमा पार्किङ सुविधा छ । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

प्रवक्ता मानन्धरका अनुसार  काठमाडौं टावर बाहेक  सुन्धारास्थित धरहराको भूमिगत पार्किङ केही दिनपछि  खुला हुनेछ । यस्तै सुन्धाराकै काठमाडौं मलमा भूमिगत पार्किङ छ भने भुईँतलामा महानगरपालिकाले पार्किङ सञ्चालन गर्न खोजेको छ ।

गत दशैंमा डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमध्ये ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला गरिएको थियो । महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठ भन्छन्, ‘सुन्धारामा मोटरसाइकल मात्रै पार्किङ गर्ने हो भने ३ हजार भन्दा बढी अट्छ, ७६ सय भन्दा बढी चारपाङ्ग्रे सवारी अट्छ । काठमाडौं मलको भुइँतलामा पनि पार्किङ सञ्चालन गर्ने हो भने न्यूरोड जाने ग्राहकलाई पार्किङको समस्या नपर्ने बताउँछन् ।

तस्वीरहरू : आर्यन धिमाल/ अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button