सगरमाथालाई एम्पुटी फुटबलको उपाधि

२२ असार, काठमाडौं । सगरमाथाले पारा तथा विशेष खेलकुदअन्तर्गत एम्पुटी पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा सगरमाथाले नेपाल आर्मीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आर्मीबाट पेरिस पारालिम्पिकमा नेपालबाट पौडीमा सहभागिता जनाउने भीमबहादुर कुमालले पनि खेलेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा पिस युनाइटेड तेस्रो भयो । पिस युनाइटेडले राइजिङ युथलाई ३–१ गोलले हरायो ।
आर्मीका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी तथा सगरमाथाका विकाससिंह महतरा उत्कृष्ट गोलरक्षक घोषित भए । विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा र एम्पुटी खेलकुद समाज, नेपालका अध्यक्ष मदनमान सिंह रोकायाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुई दिनसम्म चलेको प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।